अहिले आँपको मौसाम चलिरहेको छ। सुपरमार्केटदेखि फलफूल पसल, चोक र फुटपाथमा राखिएको टोकरी र साइकलमा विभिन्न प्रकारका आँपहरू भरिएका देखिन्छन्। जताततै आँप देखा पर्दा खान मन लाग्छ। आजकल धेरैको घरमा आँप छिटो नफैलिने अवस्था छैन। दैनिक थोरै थोरै किन्ने सट्टा धेरैले फलफूल थोक बजारबाटै ठूलो परिमाणमा १०–१२ किलोसम्म आँप किन्ने गरेका छन्। कतिपयले कोसेलीको रूपमा पनि एकैचोटि धेरै आँप पाउने गरेका छन्। गाउँतिरबाट एउटा टोकरीमा पनि ठूलो मात्रामा आँप ल्याउने चलन छ। यसरी धेरै आँप एकैपटक किन्दा वा गाउँबाट ठूलो परिमाणमा आँप मगाउँदा अनेक फाइदाहरू छन्। पहिलो, ताजा खाने सुविधा पाइन्छ। अर्को, ठूलो परिमाणमा किन्दा मूल्यमा छुट पाइन्छ। तर यहाँ समस्या आउँछ– भण्डारणको। यदि तपाईंले एकैपटक धेरै आँप किन्नुभएको छ र तिनलाई कसरी सुरक्षित राख्ने हो भनी चिन्तित हुनुहुन्छ भने, तल दिइएका उपायहरू उपयोगी हुनसक्छन्।
१. सबै आँपहरू एउटै ठाउँमा राख्नु हुँदैन। धेरैजसो मानिसहरूले ल्याएका आँपहरू एउटै भाँडोमा एउटै ठाउँ राख्ने गर्छन्, जुन ठीक होइन। यसरी राख्दा कुनै आँप बिग्रियो भने त्यसले अरू सबै आँप पनि बिगार्न सक्छ। त्यसैले सकेसम्म प्रत्येक आँपलाई अलग-अलग स्थानमा राख्नु नै उत्तम हुन्छ।
२. काँचो र पाकेको आँप फरक–फरक ठाउँमा राख्ने। सबै दाना छुट्टाछुट्टै राख्न नसकिने भए, अलि बढी पाकेका आँपलाई एक ठाउँमा, कम पाकेका अर्को ठाउँमा र काँचो आँपलाई फरक स्थानमा राख्न आवश्यक छ। पाकेको आँपले इथिलिन ग्यास उत्सर्जन गर्छ जसले अन्य आँपलाई छिटो पाक्न बाध्य पार्छ। सबै एउटै समयमा पक्दा खान सहज हुँदैन र तिनीहरू छिटो बिग्रन्छन्।
३. फ्रिजमा राख्ने। आँप पूर्ण रूपमा पाकिसकेपछि फ्रिजमा राख्न सकिन्छ। चिसो तापक्रमले पकाउने प्रक्रिया ढिलो बनाउँछ र आँप ५ देखि ७ दिनसम्म ताजा रहन्छ। तर काँचो आँप फ्रिजमा राख्नु उचित छैन।
४. पत्रिकाको प्रयोग। आँपलाई पत्रिकामा बेर्न सकिन्छ जसले हावाको आवागमन कायम राख्छ र छिटो फोहोरिनबाट बचाउँछ। यसैले काँचो आँपलाई पत्रिकामा राख्नु राम्रो हुन्छ जसले प्राकृतिक रूपमा राम्रोसँग पक्न मद्दत गर्छ।
५. तातो ठाउँमा नराख्ने। प्रत्यक्ष सूर्यको घाम पर्ने वा अत्यधिक गर्मी पाउने ठाउँमा आँप राख्नु हुँदैन। यसले आँप छिटो गल्न र बिग्रन सक्छ। साथै, लामो समयसम्म प्लास्टिक झोलामा भण्डारण पनि उचित छैन। भण्डारण गर्नु अघि आँप धुन पनि हुँदैन।

