Skip to main content

पोखरा एभेन्जर्सले एनपीएल तेस्रो संस्करणका लागि मार्कीसहित ७ खेलाडीलाई रिटेन गर्यो

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई टोलीमा निरन्तरता दिएको छ। टोलीले आगामी सिजनको रणनीतिक योजनाअनुसार कृष्ण पौडेल र रोहित चन्दसहित ५ खेलाडीलाई रिलिज गरेको छ। पोखरा एभेन्जर्सले एनपीएलको अक्सनमा केन्द्रित हुँदै आगामी सिजनका लागि थप सशक्त टोली निर्माण गर्ने जनाएको छ।

३१ जेठ, काठमाडौं। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सात खेलाडीलाई निरन्तरता दिँदै पाँच खेलाडीलाई रिलिज गरेको घोषणा गरेको छ। फ्रेन्चाइजले आफ्नो मार्की खेलाडी कुशल भुर्तेललाई पुनः रिटेन गरेको छ। यस्तै अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरणकुमार थगुन्नाले पनि आगामी सिजनमा पोखराकै जर्सीमा खेल्नेछन्। पोखराले अनुभव, प्रतिभा र सम्भावनाको सन्तुलित संयोजन रहेको यो समूहले आगामी सिजनमा टोलीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

यता, टोलीले रणनीतिक योजनाअनुसार कृष्ण पौडेल, तृतराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्दलाई रिलिज गरेको छ। क्लबले उनीहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै आगामी क्रिकेट यात्राका लागि शुभकामना दिएको छ। पोखरा एभेन्जर्सले अब एनपीएल सिजन ३ को अक्सनमा केन्द्रित हुँदै थप सशक्त टोली निर्माण गर्ने जनाएको छ। समर्थकहरूको अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित टोलीले आगामी सिजनको तयारीलाई अगाडि बढाएको बताएको छ।