जर्मनीले आइतबार कुराकाओविरुद्ध खेल्दै विश्वकप २०२६ को अभियान सुरु गर्न लागेको छ। पहिलो पटक विश्वकप खेल्न लागेको कुराकाओले डिक एड्भोकाटको नेतृत्वमा छनोट चरणमा एक खेल पनि हारेको थिएन्। काल्फ इन्जुरीबाट पीडित ४० वर्षीय अनुभवी गोलकिपर म्यानुअल नोयर पहिलो खेलमा मैदानमा ओर्लन सक्ने सम्भावना बलियो छ।
३१ जेठ, काठमाडौं। आइतबार कुराकाओविरुद्ध पहिलो विश्वकप खेल्दै विश्वकप अभियान आरम्भ गर्न लागेको जर्मनीको एक मात्र उद्देश्य विश्वकप इतिहासकै ठूलो ‘अपसेट’ बाट बच्नु हुनेछ। विश्वकप २०२६ का फेवरेटहरू मध्ये जर्मनीको नाम प्रायः समावेश हुँदैन। किनभने टोलीले पछिल्ला दुई संस्करणमा समूह चरणबाटै बाहिरिनु परेको थियो। त्यसैले टोलीले कुराकाओविरुद्ध मानसिक दबाब महसुस गर्नेछ। तर पनि जर्मनी बलियो लयका साथ अमेरिका पुगेको छ। पछिल्ला ९ खेलमा जर्मनीले लगातार विपक्षीहरूलाई हराएको छ। यस वर्षका चार मैत्रीपूर्ण खेलहरूमा जर्मनीले स्विट्जरल्यान्ड, घाना, फिनल्यान्ड र सह–आयोजक अमेरिकालाई हराएको छ।
जर्मनीले कुराकाओपछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। यदि यो पटक पनि जर्मनी समूह चरणबाट बाहिरियो भने फुटबल सरोकारवालाहरूका लागि यो निकै आश्चर्यजनक हुनेछ। किनभने यसपटक तेस्रो स्थानमा रहने टोली पनि उत्कृष्ट ‘थर्ड रनर्स–अप’ को आधारमा नकआउट चरणमा पुग्न सक्नेछ। कुराकाओसँग जर्मनीलाई जितबाहेक अन्य विकल्प छैन्। बराबरीको परिणामले पनि टोलीलाई आलोचनाको घेरामा पार्नेछ।
समूह ‘इ’को प्रतिस्पर्धामा पहिलो विश्वकप अनुभव गर्दै गरेको कुराकाओ ऐतिहासिक नतिजा राख्ने लक्ष्यमा हुनेछ। कुराकाओलाई दबाब नहुँदा तिनीहरू खुल्ला मनोबलका साथ मैदानमा उत्रनेछन्। गत नोभेम्बरमा कुराकाओले कन्काकाफ छनोट प्रतियोगिताका पहिलो र दोस्रो चरणमा शीर्ष स्थान हासिल गरी पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो। डिक एड्भोकाटको नेतृत्वमा रहेको कुराकाओले उक्त यात्रामा कुनै पनि खेल हारेको छैन। त्यसैले कुराकाओ जर्मनीसँग डराउनु पर्ने टोली होइन।
विश्वकपअघि वार्म अप (मैत्रीपूर्ण) खेलहरूमा कुराकाओले स्कटल्यान्डसँग ४–१ ले हार्यो, तर अन्तिम मैत्रीपूर्ण खेलमा टोलीले अरुबालाई ४–० ले हरायो। फिफा वरीयतामा ८२औं स्थानमा रहेका कुराकाओका लागि जर्मनीविरुद्ध अंक लिनु पनि जित जस्तै हुनेछ।
जर्मनीका सबै खेलाडीहरू फिट छन्। तर, पछिल्लो समयमा भेट्रान गोलकिपर म्यानुअल नोयर काल्फ इन्जुरीबाट पीडित छन्। त्यस बावजुद ४० वर्षीय नोयर पहिलो रोजाइमा खेल्ने सम्भावना बलियो छ। जर्मनीलाई उपाधि दाबेदारको रुपमा नहेर्दा योसुवा किमिच, जोनाथन ताह, लेरोई साने, जमाल मुसियाला र फ्लोरियन विर्ट्ज जस्ता स्टार खेलाडीहरूले टोलीको स्क्वाड गहिराई बलियो बनाएका छन्। च्याम्पियन्स लिग फाइनलमा गोल गरेका आर्सनलका फरवार्ड काइ ह्याबर्ट्जले जर्मनको अग्रपङ्क्ति सम्हाल्नेछन्। २७ वर्षीय ह्याबर्ट्जले राष्ट्रिय टोलीका लागि करिब २२ गोल गरिसकेका छन्।
कुराकाओलाई पनि कुनै इन्जुरीको समस्य छैन। एस्टन भिल्लाका पूर्व मिडफिल्डर लियान्ड्रो बाकुनाले टोलीको कप्तानी सम्हालेका छन्। ३४ वर्षीय लियान्ड्रोका भाइ जुनिन्हो बाकुनाले मिडफिल्डमा साथ दिनेछन्।

