Skip to main content

अमेरिका–इरानबीच शान्ति सम्झौतामा सहमति, आगामी शुक्रवार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने र नाकाबन्दी हटाउने शान्ति सम्झौतामा सहमति भएको छ, जसको हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्यान्डमा हुनेछ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको मध्यस्थतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रिय सुरक्षा परिषद्ले सम्झौतामा सहमति जनाएका छन्। सम्झौतापछि लेबनानसहित सबै मोर्चामा जारी युद्ध अन्त्य हुने, नाकाबन्दी हट्ने र स्ट्रेट अफ होर्मुजबाट तेल ढुवानी सुरू हुनेछ।

अमेरिकी र इरानी अधिकारीहरूले आइतबार दुवै देशबीचको युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुन: खोल्ने उद्देश्यसहितको शान्ति ढाँचामा सहमति भएको बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो जानकारी दिएका छन्। उनले भने, “गहन तथा निरन्तर वार्तापछि हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्न पाउँदा खुसी छौं।”

सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ तारिख शुक्रवार स्विट्जरल्यान्डमा आयोजना हुने बताइएको छ। शरीफले यस मध्यस्थता प्रयासमा सहयोग पुर्याई सम्झौता सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कतार, साउदी अरब र टर्कीका नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानसँग शान्ति सम्झौता टुंगोमा पुगेको जानकारी दिएका छन्।

सम्झौतापछि महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट पुन: निर्वाध तेल ढुवानी सुरु हुने र इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ। गत फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपश्चिम क्षेत्र तनावग्रस्त भएको थियो।