१ असार, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत बजेटले युवाहरूमा उत्साह जगाउन नसकेको बताउनुभएको छ। सोमबार प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमाथिको बजेट छलफलका क्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ‘समग्रमा बजेटको आकार ठूलो छ। शब्द चयनहरू आकर्षक छन्। प्रस्तुती प्रभावशाली छ,’ उहाँले भन्नुभयो, ‘यस सरकारप्रति असाध्यै ठूलो आशा थियो। म एक युवा सांसद हुँ, त्यसैले भित्र अत्यन्त उत्साह थियो। तर बजेट वक्तव्य पढेपछि, सुनेपछि त्यो उत्साह रहन सकेन।’
लामो समयसम्म युवा आन्दोलनलाई नेतृत्व गर्दै आउनुभएको स्मरण गर्दै, उहाँले युवा मन्त्रालयसँग सम्बन्धित आफ्नो धारणा राख्नुभएको छ। चुनावका बेला युवाबाट आफूलाई सोधिएको प्रश्न याद गर्दै भन्नुभयो, ‘तपाईंको पार्टीले कति युवालाई रोजगारी दिन्छ?’ यस्तै प्रश्न रास्वपाले पनि सामना गरेको उहाँले बताउनुभयो र रोजगारी सिर्जना गर्ने सबैले वाचा गरेको उल्लेख गर्नुभयो। तर बजेट आएपछि युवाहरूले आशा गरेको रोजगारीको अवसर नपाएको उहाँको भनाइ छ। ताप्लेजुङमा हुने अलैंची उत्पादनको विषय पनि उहाँले उठाउनुभयो। नेपालको कुल उत्पादनको ४४ प्रतिशत अलैंची ताप्लेजुङमै उत्पादन हुन्छ। यसको प्रवर्द्धनका लागि सरकारले अन्तर्राष्ट्रिय बजार समन्वय गर्नुपर्ने थियो। न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने उहाँको अनुरोध छ। यसो गर्न सके ठूलो संख्यामा युवालाई रोजगारी दिने सम्भावना छ।
सरकारले कुनै पनि हालतमा गुजारा चलाउनुपर्ने नीति बजेटमा प्रस्तुत भएको उल्लेख गर्दै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको सम्झनुभयो। ‘‘संविधानले प्रदत्त मौलिक हकमा आर्थिक बोझ लगाइएको छ,’’ उहाँले भन्नुभयो। ‘‘शिक्षामा अतिरिक्त समता शुल्कले बुद्धिमा बिर्को रोपियो, जसले ज्ञानको अभाव जन्मायो। हाम्रो विद्वान अर्थमन्त्रीजस्ता विद्वानहरू उत्पादन नहुनु भन्ने त होइन?’’ उनले बजेटले अभिभावकलाई थप आर्थिक बोझ परेको बताए। स्वास्थ्य क्षेत्रमा समता शुल्क लगाउँदा गम्भीर प्रश्नहरू उठ्ने उहाँले बताउनुभयो। ‘‘अब एउटा अबोध बालक जन्मिँदै गर्दा समेत अतिरिक्त स्वास्थ्य कर तिर्नुपर्ने अवस्था छ, जीवनको अन्तिम यात्रामा अन्त्येष्टि अगाडि मृत्यु सैयामा पनि कर तिर्नुपर्ने घाटो आएको छ,’’ उहाँले भन्नुभयो।
खेलकुद क्षेत्रमा केही कार्यक्रम भएपनि आफ्नै मेहनतले सिर्जित खेलाडीहरूको गुणस्तरीय जीवन, सामाजिक सुरक्षा र खेलपछि भविष्य सुनिश्चित हुने ठोस कार्यक्रम नदेखिएको उहाँको अभिव्यक्ति छ। पर्यटन क्षेत्रमा समेत सरकारले युवाहरूमा आशा जगाउन नसकेको बताउँदै, ताप्लेजुङको कञ्चनजंघा, तोपके गोला, ओलांगचुंगोला र गुन्सा क्षेत्रलाई समेटेर हाई अल्टिच्युड स्पोर्ट्स करिडोर विकास गर्ने योजना सुनाउनुभयो। मनाङ, मुस्ताङ, डोल्पा, सोलुखुम्बु लगायत जिल्लाहरूमा असाधारण सम्भावना रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

