Skip to main content

मधेश सरकारका कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धिको घोषणा गरेको छ। सरकारी निकायमा हुने ढिलाइका कारण नागरिकलाई क्षतिपूर्ति दिनका लागि मधेश सरकारले ‘हेल्लो सीएम एप’ र टोल फ्री नम्बर सञ्चालन गर्ने निर्णय गरेको छ।

१ असार, जनकपुरधाम – अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिएका छन्। उनले अन्य कार्यसम्पादनको आधारमा समेत १० प्रतिशत प्रोत्साहन भत्ता दिइने कुरा पनि उल्लेख गरे।

सरकारी निकायमा हुने ढिलाइका कारण नागरिकले भोग्ने असुविधामा क्षतिपूर्ति दिने व्यवस्था बनाउने भएको छ। अर्थमन्त्री भट्टराईले यस्ता घटनाहरूलाई नियन्त्रण गर्न ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ संचालन गर्ने जानकारी दिएका छन्।

१८ देखि ३५ वर्षका युवाहरूलाई लक्षित गर्दै सयदिने रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउने काम भइरहेको छ। प्रदेश प्रहरी भर्नाका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जानकारी पनि अर्थमन्त्रीले दिएका छन्। यसका साथै, मधेश प्रदेश सरकारले हालसालै निकै लोकप्रिय बनेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम पनि परिमार्जन गरेको छ।