Skip to main content

जापानी समर्थकहरूले खेलपछिको रंगशाला सफाई किन गर्छन्?

चालु विश्वकपमा नेदरल्यान्डविरुद्धको खेलपछि जापानी समर्थकहरूले रंगशालामा फालिएका फोहोर आफैं सफा गरेर विश्वको ध्यान आकषिर्त गरेका छन्। जापानी समर्थकहरूको यो बानी अहिले संस्कारको रूपमा स्थापित भइसकेको छ। जापानले आफ्नो पहिलो खेल नेदरल्यान्डविरुद्ध खेलेको थियो, जहाँ खेल बराबरीमा रोकिएको थियो। तर, जापानी समर्थकहरूले फेरि पनि विश्वको ध्यान आफ्नो तर्फ तान्न सफल भएका छन्। सामाजिक सञ्जालमा जापानी प्रशंसकहरूले आधा खाएका खानेकुरा र फालिएका प्लास्टिकका सामानहरू टिपेर रंगशाला सफा गरिरहेको भिडियो प्रसारित भइरहेको छ।

जापानी प्रशंसकहरूले रंगशाला सफा गर्ने यो अभ्यास सन् १९९८ मा फ्रान्समा भएको विश्वकपदेखि देखा पर्न थाल्यो। यो बानी फुटबल बाहेक ओलम्पिक र अन्य ठूला खेलकुद प्रतियोगिताहरूमा समेत देखिन्छ। जापानी समर्थकहरूले रंगशाला सफा किन गर्छन् भन्ने प्रश्नको जवाफ दिँदै ओसाका विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक स्कट नर्थले भने, ‘तात्सु तोरी आतो वो निगोसाजु’ भन्ने जापानी वाक्यांशको अर्थ हो, ‘चराले आफ्नो पछाडि केही पनि छोड्दैन।’ यो वाक्यांशले जापानी समर्थकहरूको सफा गर्ने संस्कारको मूल कारणलाई झल्काउँछ।

स्कट नर्थका अनुसार, ‘फुटबल खेलपछि सफाइ गर्नु विद्यालयमा सिकाइने आधारभूत व्यवहारको निरन्तरता हो।’ जापानी बालबालिकाहरूले कक्षाकोठा र बरण्डाहरू आफैं सफा गर्छन्। यसरी जापानले आफ्नो यो संस्कारलाई विश्वकप फुटबललाई अवसर बनाएर विश्वसँग बाँडिरहेको छ, जसले जापानको सांस्कृतिक पक्षको पनि राम्रो प्रचार गर्छ।