मिसौरीमा स्काईडाइभिङ्गको लागि उडेको विमान दुर्घटना, चालक दलसहित १२ जनाको मृत्यु
अमेरिकाको मिसौरीमा स्काईडाइभिङका लागि उडेको सानो निजी विमान दुर्घटना हुँदा ११ जना स्काईडाइभर र १ जना पाइलटसहित १२ जनाको मृत्यु भएको छ। आइतबार बट्लर मेमोरियल विमानस्थलबाट उडेको केही बेरमै विमान अनियन्त्रित भएर नजिकैको चौरमा खसेर भीषण आगलागी भएको थियो। बेट्स काउन्टीका शेरीफ चाड एन्डरसनले यस घटनालाई ‘सामूहिक हताहती’को रूपमा लिएर उद्धार र अनुसन्धान कार्य अघि बढाइएको जानकारी दिएका छन्।
बेट्स काउन्टी आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार, आइतबार बिहान करिब ११:३० बजे बट्लर मेमोरियल विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो। विमानस्थलका कार्यवाहक प्रबन्धक डेनिस ज्याकोब्सका अनुसार विमानले उडान भरेलगत्तै आवश्यक उचाइ लिन सकेको थिएन। त्यसपछि विमानले दायाँतर्फ मोड लिएको थियो तर अन्ततः Sharp लेफ्ट टर्न लिएर विमानस्थलबाट करिब २०० यार्ड टाढा रहेको चौरमा खसेको थियो। भुइँमा बजारिनासाथ विमानमा भीषण आगलागी भएको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार, विमानको इन्जिन फेल भएपछि पाइलटले नजिकैको राजमार्गमा आकस्मिक अवतरण गराउने प्रयास गर्दागर्दै विमान अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको छ। बेट्स काउन्टीका शेरीफ चाड एन्डरसनले यस घटनालाई ‘सामूहिक हताहती’ (मास क्याजुअल्टी)को रूपमा लिएर उद्धार र अनुसन्धान कार्य अघि बढाइएको जानकारी दिएका छन्। दुर्घटनामा परेका केही व्यक्तिका परिवारका सदस्यहरूले रंगशाला वा विमानस्थल नजिकैबाट यो भयानक दृश्य प्रत्यक्ष देखेका थिए। दुर्घटना स्थल अत्यन्त विभत्स रहेको अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले विमान खस्नुअघि कोही स्काईडाइभरहरू प्यारासुटको सहायताले हामफाल्न सफल भए कि भनेर उडान मार्ग वरपर खोजी गरे पनि कोही फेला परेनन्।

