Skip to main content

सुर्खेत विमानस्थल विस्तारका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थलको विस्तारका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै सङ्घीय सरकारसँग मिलेर विमानस्थल विस्तार गरिने जानकारी दिएका छन्। प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत सुर्खेत विमानस्थल विस्तारको योजना अघि सारेको थियो। हरेक वर्ष दीर्घकालीन आवश्यकताअनुसार प्रादेशिक विमानस्थल निर्माणका लागि सङ्घीय सरकारसँग आवश्यक पहल गरिने योजना अघि सारिन्छ।

तर, अहिलेसम्म सुर्खेत विमानस्थलको विस्तारको योजना अघि बढ्न सकेको छैन। बजेट भाषण गर्दै अर्थमन्त्री शाहले सुर्खेत विमानस्थलदेखि कर्णालीका अन्य जिल्लाहरूमा आन्तरिक उडान गर्ने कार्यक्रम पनि घोषणा गरेका छन्। ‘सङ्घीय सरकारको समन्वयमा प्रदेशका अन्य जिल्लाहरूमा नियमित हवाई उडान सेवा सुधार गरिने छ। त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ’, अर्थमन्त्री शाहले उल्लेख गरे। सुर्खेत विमानस्थल विस्तारका लागि सङ्घीय सरकारले पनि बजेटमा रकम समावेश गरेको छ। तर, त्यसको अङ्क अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा सार्वजनिक गरेका थिएनन्।