श्रीलंकाले नेपालसहित विश्वका लगभग ४० देशका नागरिकलाई निःशुल्क अनलाइन भिसा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। हिन्द महासागरको बीचमा मोतीझैं चम्कने एउटा टापु छ, जहाँ बिहान चियाबगानमाथि कुहिरो खेल्छ। दिउँसो प्राचीन सभ्यताका अवशेषहरूले इतिहास सुनाउँछन्, र साँझ समुद्रको लहरले यात्रुको थकान बगाइदिन्छ। अहिले यो देश नेपाली यात्रुका लागि झन् सहज भएको छ। हालै श्रीलंकाले नेपालसहित लगभग ४० देशका नागरिकलाई निःशुल्क अनलाइन भिसा सुविधा दिने निर्णय गरेपछि त्यहाँ यात्रा गर्न अझै सजिलो भएको छ। पहिले भिसा शुल्कमा खर्चिनुपर्ने रकम अब बच्ने भएकाले धेरै नेपालीका लागि श्रीलंका ‘बजेट फ्रेन्ड्ली’ विदेशी गन्तव्य बनेको छ। काठमाडौँबाट कोलम्बो पुग्न करिब ३–४ घण्टा मात्र लाग्छ। छोटो दूरी, सांस्कृतिक समानता, स्वादिष्ट खाना र समुद्रदेखि पहाडसम्मको विविधताले श्रीलंका अहिले दक्षिण एसियाकै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ।
नेपालजस्तै यहाँ पनि बौद्ध संस्कृतिको गहिरो प्रभाव देखिन्छ। गुम्बामा सुनिने प्रार्थना, भिक्षुहरूको उपस्थिति र स्तूपहरूको शान्त वातावरणले नेपाली यात्रुलाई आत्मिय अनुभूति गराउँछ। स्थानीय मानिसहरू पनि अतिथिसेवा र स्वागतशील छन्। समुद्र किनारमा आराम चाहनेदेखि इतिहास र संस्कृतिमा रुचि राख्नेहरू सबैका लागि यहाँ केही न केही विशेष भेटिन्छ। सिगिरिया, कान्दी, नुवारा एलिया, एला र याला राष्ट्रिय निकुञ्ज जस्ता स्थानहरूले यहाँको यात्रा अझ विशेष बनाउँछन्।
श्रीलंकाको यात्रा तहाँको खानाबिना पूरा हुँदैन। यहाँको खानामा मसला, दाल, करी र भातले नेपाली स्वादकै याद दिलाउँछ। नारिवल श्रीलंकाको प्रमुख उत्पादनमध्ये एक हो र धेरै परिकारमा यसको प्रयोग हुन्छ। ‘कोट्टु रोटी’ र ‘हपर्स’ जस्ता परिकारहरू यहाँका विशेषता हुन्। क्यासिनो पर्यटनको लागि पनि कोलम्बो आकर्षक गन्तव्य बनिरहेको छ। सामान्य रूपमा ७ दिनको श्रीलंका यात्रा एक जनाको लागि मध्यम बजेटमा ७० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्ममा सम्पन्न गर्न सकिन्छ। हवाई टिकट, होटेल स्तर र यात्राको शैली अनुसार खर्च बढघट हुन सक्छ।

