Skip to main content

बाबुरामले बालेनलाई ऐतिहासिक आर्थिक समस्याको दिगो समाधान खोज्न आग्रह गरेका छन्

फाइल फोटो १ असार, काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको आर्थिक क्षेत्रमा गम्भीर संरचनात्मक सङ्कट देखा परिरहेको बताउँदै नयाँ पुस्ता नेताहरुलाई त्यसको दिगो समाधान खोज्न आग्रह गरेका छन्। युवा बहुल संसद र सरकारलाई लक्षित गर्दै डा. भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेखेर उक्त अनुरोध गरेका छन्। उनले भारतले निर्यातमा अवरोध पुर्‍याएपछि ८३ चिया उद्योग बन्द गर्ने घोषणा र अघिल्लो वर्षको तुलनामा १२० उद्योग कम दर्ता हुनु देशको गम्भीर आर्थिक सङ्कटको संकेत भएको बताएका छन्।

‘यी अत्यन्त गम्भीर आर्थिक क्षेत्रका संरचनात्मक सङ्कटका सङ्केत हुन्। नेपालमा जम्मा ११.४ प्रतिशत जीडीपी (कुल गार्हस्थ्य उत्पादन) र १३.८ प्रतिशत श्रमशक्तिसँग (सन् २०२४ का तथ्यांक अनुसार) रहेको कमजोर औद्योगिक क्षेत्र छ,’ उनले लेखेका छन्, ‘सबैभन्दा गम्भीर कुरा, राष्ट्रियताका अन्य पक्षमा हामी नेपाली जति संवेदनशील छौं, आर्थिक राष्ट्रियता सम्बन्धी विषयमा भने हाम्रो बालसुलभ अज्ञानता र मौनता धेरै चिन्ताजनक छ।’ पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ४० वर्षअघि सन् १९८६ मा भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा प्रस्तुत गरेको आफ्नो विद्यावारिधि शोधग्रन्थलाई सम्झँदै नेपालमा परनिर्भरता र अल्पविकासको विश्लेषण गरेका छन्।

‘मैले ठीक ४० वर्षअघि जेएनयूमा प्रस्तुत गरेको “द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल” विषयक विद्यावारिधि शोधग्रन्थमा यही संरचनात्मक आर्थिक अल्पविकास र परनिर्भरताको आन्तरिक र बाह्य कारणबारे विस्तृत विश्लेषण गरेको थिएँ,’ उनले स्मरण गराए, ‘तर त्यसपछि बितेको अवधिमा हामी राजनीतिक अधिकारको संघर्षमै व्यस्त भयौं।’ आफ्नो पुस्ताको धेरै समय राजनीतिक व्यवस्था परिवर्तनको सङ्घर्षमै बिताएको बताएपछि उनले अब देशको आर्थिक रोगको उपचार गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताएका छन्। ‘अहिले नयाँ जोस र जाँगरसहित सत्ता सम्हालिरहेका साथीहरू अब त्यो ऐतिहासिक आर्थिक रोगको दिगो समाधान खोज्ने हो कि?’ उनले प्रश्न गर्दै सुझाव दिएका छन्। नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध र उद्योग दर्तामा आएको कमीले देशको औद्योगिक वातावरण खस्कँदै गएको अवस्थामा पूर्वप्रधानमन्त्री भट्टराईको यो अभिव्यक्ति आएको हो।