कवि नदीशले अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा आयोजित कार्यक्रममा आफ्ना नयाँ र पुराना गरी १२ कविता प्रस्तुत गरे। शनिबार साँझ भएको कार्यक्रममा नदीशले कविता सुनाउँदा संयम आचार्यले गितार र पियानो, दीपक गौतमले गितार, र प्रदीप विष्टले बाँसुरी र मुर्चुङ्गा बजाए। तीनै जना आईटी क्षेत्रमा कार्यरत छन्। कार्यक्रम सिलिकन भ्यालीस्थित स्टार्टअप कन्फ्ल्यासन् ल्याबले आयोजना गरेको हो।
नदीशले ‘यस्तो हुनु’, ‘बाँसुरी’, ‘झरी पर्दा’, ‘घर फर्किरहेछ कोही’, ‘अचेत सभ्यताको माझबाट’, ‘रोकिन मन छ- नजाऊ भनिदिने कोही छैन’, ‘म फेरि आउँछु’, ‘मौन बस्न देऊ’ लगायत शीर्षकका कविता सुनाए। दर्शकले ‘हिमवृष्टि’ र ‘तृष्णा’ कविता सुन्न आग्रह गरे। नदीशका समकालीन गजेन्द्र कटुवालले नदीशको कविता कोकुन पढेर प्रस्तुत गरे।
कार्यक्रममा नदीशले भने, “साहित्यिक माहोलमा त कविता सुनाउँदै आएको छु तर यसपटक प्रविधिसँग दशकभन्दा लामो समयदेखि जोडिएका मेरै पृष्ठभूमिका अग्रज र समकालीनहरूबीच कविता सुनाउन पाउँदा फरक र खुसी अनुभव भएको छ।” आयोजक प्रदीप विष्टले भने, “प्रविधि क्षेत्रमा निरन्तर एकरस काम गर्दा थकान लाग्छ। नदीशका कलात्मक कविताले हामीलाई प्रकृति र अध्यात्मले भरिपूर्ण आनन्दमा लैजान्छ।”
नदीशका कविताको पछिल्लो सङ्ग्रह ‘हिउँद’लाई महत्वपूर्ण उपलब्धि मानिएको छ। उनले भने, “आईटी क्षेत्रमा काम गर्दा पनि कविताप्रति पहिलेको लगाव छ। प्रविधि मात्र हुन्थ्यो भने मेरो जीवन नीरस हुन्थ्यो। कविताले मेरो जीवनमा रङ भरेको छ।” नदीश रुकुममा जन्मेका हुन् र उनले ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजबाट अध्ययन गरेका छन्।

