१ असार, बेइजिङ । नेपाल र चीनले दुई देशबीचको पारस्परिक हितलाई लक्षित गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बेइजिङमा चीनका विदेशमन्त्री वाङ यी सँग भेटवार्ता गरी नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका हुन्। चारदिने औपचारिक भ्रमणको क्रममा सम्पन्न उक्त भेटमा दुई पक्षबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूमाथि व्यापक छलफल भएको परराष्ट्रमन्त्रीले जानकारी दिएका छन्।
छलफलमा विशेष गरी सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका विषयहरू समेटिएका थिए। भेटका क्रममा दुवै पक्षले जनस्तरका सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार विमर्श गरेका थिए। पछिल्ला वर्षहरूमा राजनीतिक, आर्थिक र पूर्वाधार विकासका क्षेत्रमा नेपाल र चीनबीच सहकार्य बढिरहेको अवस्थामा उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप गुणात्मक रुप दिने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनालले भेटपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा चीनका विदेशमन्त्री वाङ यी सँगको भेटलाई फलदायी र व्यापक छलफलको रूपमा उल्लेख गरेका छन्। उनले दुई देशबीच साझा हितका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर कुराकानी भएको बताएका छन्। यो भेटवार्ता नेपाल-चीन कूटनीतिक संवादलाई निरन्तरता दिने र विकास तथा पूर्वाधार सहकार्यको एजेन्डालाई अगाडि बढाउने महत्वपूर्ण अवसरका रूपमा पनि हेरिएको छ।

