सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोडको बजेट मध्यरातमा प्रस्तुत गर्यो
२ असार, काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। उनले कृषि र पर्यटनसँगै पूर्वाधार विकासमा विशेष जोड दिँदै बजेट ल्याएको बताएका छन्। बजेटमा कर्मचारीहरूको तलब तथा भत्ता १० प्रतिशतले वृद्धि गर्ने घोषणा समेत गरेका छन्।
सत्तारुढ दलहरूबीचको विवादका कारण बजेट मध्यरातमै प्रस्तुत गरिएको थियो। यसमा उनले मन्त्रालयगत विवरण समेत सार्वजनिक गरेनन्। बजेट खर्च व्यहोर्ने स्रोतका रूपमा उनले आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँटको अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको उल्लेख गरेका छन्।
त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबाट प्राप्त हुने ७ करोड, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानबाट ३८ करोड ८० लाख, र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको मन्त्रीको भनाइ छ।

