२ असार, काठमाडौं । एटलान्टा स्टेडियममा खेल सकिएपछि सबै क्यामेराहरु भोजिन्हातर्फ केन्द्रित भए। उनका आँखाबाट आँसु खसे। चार दशक पार गरिसकेका यो खेलाडीले विश्वकपजस्तो विशाल मञ्चमा स्पेन जस्ता शक्तिशाली टिमविरुद्ध शानदार प्रदर्शन गरेपछि यो बिलकूल स्वाभाविक थियो। विश्वकपकै पहिलो खेलमा, ४० वर्षको उमेरमा डेब्यु गर्दै, उपाधिको दावेदार टिम स्पेनलाई गोलरहित बराबरीमा रोक्न उनी मुख्य नायक बने। उनी हुन् भोजिन्हा। एक दिनअघि सम्म विश्व फुटबलमा उनको नाम सुन्न नपाएको भोजिन्हा अहिले स्पेनविरुद्धको उत्कृष्ट प्रदर्शनपछि विश्वभर चर्चित छन्। अफ्रिकी राष्ट्र केप भर्डेले फिफा विश्वकप २०२६ मा पहिलो खेलमै २०१० का विश्व च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेर नयाँ इतिहास रच्दा, ४० वर्षका गोलकिपर भोजिन्हा स्टार बनेका छन्।
स्पेनविरुद्ध भोजिन्हा पर्खालझैँ उभिए। स्पेनका फरवार्डहरू उनलाई पार गर्न सकेनन्। विश्वफुटबलका युवा स्टार लामिन यमालले दोस्रो हाफमा खेले पनि केप भर्डेविरुद्ध कुनै प्रभाव पार्न सकेनन्। ५ लाखभन्दा कम जनसंख्या भएको सानो टापु राष्ट्र केप भर्डेको यो ऐतिहासिक प्रदर्शनमा ४० वर्षीय भोजिन्हा मुख्य नायक रहे। स्पेनका विश्वप्रसिद्ध स्ट्राइकरहरूलाई निराश पार्दै उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड पाए। अहिले भोजिन्हा विश्वफुटबल र सामाजिक सञ्जालमा निकै चर्चित छन्। मैदानभित्र स्पेनलाई रोक्ने भोजिन्हाको सामाजिक सञ्जालमा फलोअर्सको ठूलो भिड लाग्न थालेको छ। स्पेनविरुद्धको बहादुरीपूर्ण खेलमा स्पेनले ७४ प्रतिशतभन्दा बढी बल कब्जा गर्दै २७ पटक गोल प्रयास गर्यो, तर यी सबै प्रयास भोजिन्हाले रोक्न सफल भए। उनले ७ उत्कृष्ट बचाउ गरे र स्पेनलाई सहज गोल गर्नबाट बचाए। उनी नभएको भए स्पेनले आधा दर्जन गोल गर्न सक्ने अवस्था थियो।
खेलपछि भोजिन्हाले सामाजिक सञ्जालमा आफ्ना भावना व्यक्त गर्दै भने, कि भिसा समस्या र आर्थिक अभावका कारण उनकी आमा अमेरिका आएर खेल हेर्न पाइनन्, र हजुरबुबा-हजुरआमा नदेखेपछि उनी भावुक बने। ‘म रोएँ किनभने मलाई हुर्काउने मेरा हजुरबा-हजुरआमा दुर्भाग्यवश यहाँ हुनुहुन्न। उहाँहरू मेरो लागि सबैथोक हुनुहुन्छ,’ उनले भने, ‘मेरी आमा पनि भिसाको कारण यहाँ आउन सकिनन् किनभने त्यसमा लाग्ने खर्च थिएन। म चाहन्थे उहाँलाई यही खेल हेर्दैँ।’ २५ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका भोजिन्हाको वास्तविक नाम जोसिमार जोसे एभोरा डियास हो र भोजिन्हा उनको उपनाम हो। उनका जन्म केप भर्डेको मिन्डेलोमा भएको हो। अधिकांश आधुनिक फुटबलरले सानै उमेरमा खेल सुरु गर्ने बेलामा भोजिन्हाले २५ वर्षको उमेरमा मात्र व्यावसायिक फुटबल खेल्न शुरू गरे।
उनी केप भर्डे, माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजन क्लबहरूबाट खेलेका छन्। हाल पोर्चुगिज क्लब चाभेसमा आबद्ध छन्। सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले अहिलेसम्म ९० खेल खेलिसकेका छन्। १० वर्षभन्दा बढी राष्ट्रिय टोलीमा खेलेका भोजिन्हा टिमका महत्वपूर्ण सदस्य बनिसकेका छन्। केप भर्डेलाई पहिलोपटक विश्वकपमा छनोट गराउन पनि उनको भूमिका निर्णायक रह्यो। ४० वर्ष १२ दिनको उमेरमा विश्वकपमा डेब्यु गरेपछि उनी विश्वकपमा डेब्यु गर्ने दोस्रो सबैभन्दा वृद्ध खेलाडी बने। इजिप्टका गोलकीपर एसा हल हाडारी ४५ वर्षको उमेरमा विश्वकपमा डेब्यु गरेका थिए। भोजिन्हाले टिमको एकता नै सबैभन्दा ठूलो हतियार भएको बताए। ‘हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो एकता हो,’ उनले भने, ‘धेरैले हामीलाई यहाँ फेरी मजा लिन मात्र आएको सोच्थे, तर हामीसँग राम्रो टिम छ र हामी प्रतिस्पर्धा गर्न आएका हौं। यो हाम्रो पहिलो पटक हो, तर हामीले राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छौं।’
इन्स्टाग्राममा फलोअर्सको संख्यामा अचानक बृद्धि भएको छ। स्पेनविरुद्धको प्रदर्शनपछि भोजिन्हा एक रातमै चर्चामा आएका छन्। खेलअघि उनको करिब ५०,००० फलोअर्स मात्र थिए। अहिले यो संख्या ५ मिलियनभन्दा बढी पुगेको छ र अझै बढिरहेको छ। भोजिन्हा विश्वकप २०२६ को सबैभन्दा ठूलो ‘ब्रेकआउट स्टार’ र इन्टरनेट सेन्सेसन बनेका छन्। न कुनै ठूलो क्लबसँग सम्झौता छ, न उमेरले ४० वर्ष पुगेको छ, तर दृढ इच्छाशक्ति र मेहनतले विश्वमञ्चमा आफूलाई प्रमाणित गर्न सकिने उदाहरण उनले प्रस्तुत गरेका छन्। उनको उत्कृष्ट प्रदर्शन र केप भर्डेको विश्वकप डेब्युमा यो ऐतिहासिक बराबरी सदैव विश्वकप इतिहासमा स्वर्ण अक्षरमा रहनेछ।

