२ असार, काठमाडौं । वर्तमान विश्व फुटबलका सबैभन्दा प्रभावशाली स्ट्राइकरमध्ये एक एर्लिङ ब्रान्ट हालान्ड हुन्। क्लब फुटबलमा गोल गर्ने मेसिनका रूपमा प्रसिद्ध हालान्डको फिफा विश्वकपमा खेल्ने सपना साकार हुँदैछ। हालान्डसहितको नर्वे टोलीले २८ वर्षपछि फिफा विश्वकपमा पुनः प्रवेश गरेको छ। समूह आई मा रहेको नर्वेले इराकसँगको खेलमा हालान्डले विश्वकपमा आफ्नो डेब्यु गर्नेछन्। यो खेलमा सबैको नजर विशेषगरी हालान्डमाथि हुनेछ। हालान्डले बोरुसिया डर्टमन्डदेखि म्यानचेस्टर सिटीसम्म आफ्नो गोल गर्ने क्षमता देखाइसकेका छन् र उनले फिफा विश्वकपमा पनि यस्तै प्रदर्शन गर्ने लक्ष्य राखेका छन्।
नर्वे र इराक दुवै टोलीका लागि यो खेल पुनरागमन उत्सवको रूपमा रहनेछ। नर्वे सन् १९९८ पछि पहिलोपटक विश्वकपको मुख्य चरणमा छनोट भएको हो भने इराक सन् १९८६ को मेक्सिको विश्वकपपछि ४० वर्षपछि विश्वकपमा फर्कँदैछ। फिफा वरियतामा नर्वे ३१ औं र इराक ५७ औं स्थानमा रहेका छन्। नर्वेले युरोपियन छनोटमा सर्वाधिक ३७ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। नर्वे चौथो पटक विश्वकपमा खेलेको हो। दी लायन्स अफ मेसोपोटामिया भनेर परिचित इराक दोस्रोपटक विश्वकपमा खेल्दैछ र पहिलो जितको खोजीमा छ। सन् १९८६ मा विश्वकप डेब्यु गर्दा इराकले समूहका सबै तीन खेल गुमाएको थियो। इराकले इन्टरकन्टिनेन्टल प्लेअफमा बोलिभियालाई २-१ ले पराजित गर्दै यस संस्करणको विश्वकप प्रवेश गरेको थियो। फ्रान्स र सेनेगलजस्ता बलिया टोलीहरू रहेको समूह आईलाई ग्रुप अफ डेथ मानिन्छ। त्यसैले विश्वकप पुनरागमनमा दुवै टोलीले सुखद नतिजासहित यात्रा सुरु गर्न चाहन्छन्। नर्वे र इराकबीचको खेल बोस्टन स्टेडियममा नेपाली समयअनुसार बुधबार बिहान पौने ४ बजे सुरु हुनेछ।

