२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता सम्पन्न भएको छ। दुई नेताबीच मंगलबार गृहजिल्ला झापामा एकअर्कासँग वार्ता भएको हो। कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले दुबै नेताबीचको वार्ताका क्रममा खिचिएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। ‘आज पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी उपसभापति विश्वप्रकाश शर्माबीच झापामा वान टु वान वार्ता भएको छ,’ उनले तस्वीरसँग लेखेका छन्। कांग्रेसमा संस्थापन र अन्य समूहबीचको विवाद चरमोत्कर्षमा पुगेको अवस्थामा दुई नेताबीच भएको भेटवार्ता एक महत्वपूर्ण चरण हो। तथापि, भेटका क्रममा भएका छलफलका विषयवस्तु अहिलेसम्म सार्वजनिक भएका छैनन्।

