Skip to main content

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलोपटक योग अभ्यास कार्यक्रम सम्पन्न हुनेछ

फाइल तस्वीर २ असार, काठमाडौं। विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवरमा पहिलोपटक योग अभ्यास कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले सोमबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो। समाजका अध्यक्ष राजन शर्माले कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने मुख्य उद्देश्य नेपाललाई योगगुरुको देशका रूपमा स्थापित गर्नु रहेको बताए। साथै, प्राचीन योग, तपस्या, ध्यान र आध्यात्मिक सभ्यतालाई विश्वसामु चिनाउने लक्ष्य पनि रहेको उनले बताए।

शर्माका अनुसार योग दिवस मनाउन असार ३ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। योग दिवसका दिन असार ७ गते कैलाश–मानसरोवरमा सामूहिक रूपमा योग र ध्यान कार्यक्रम आयोजना गरिनेछ। उनले भने, ‘भगवान् शिवको तपोभूमि मानिने कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तर्राष्ट्रिय स्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सबै नेपालीका लागि गर्वको विषय हो।’

कैलाश–मानसरोवरको पवित्र उचाइ र हिमालयको मौन सौन्दर्यमा योग केवल अभ्यास मात्र नभई आत्माको गहिरो जागरण र जीवनलाई शान्तिको बाटोतर्फ लैजान पवित्र साधन बन्ने हाम्रो दृढ विश्वास छ। कार्यक्रममा नेपाल, भारतसहित विश्वभरिका योगी, ध्यान साधक, योग शिक्षक, तपस्वी, अनुसन्धानकर्ता, आध्यात्मिक अभियानकर्मी लगायत १०० भन्दा बढी सहभागी हुने उनले जानकारी दिए। विश्व शान्ति तथा आध्यात्मिक समाजको नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा शाखा र साधना केन्द्रहरू रहेका छन्। कैलाश–मानसरोवरमा हुने यस अन्तर्राष्ट्रिय योग यात्रा तथा साधनाबाट नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन, अन्तर्राष्ट्रिय प्रतिष्ठा र युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्ने अपेक्षा गरिएको छ।