२ असार, काठमाडौं । जापानमा आयोजना हुन लागेको २०औं एसियाली खेलकूद (एसियन गेम्स) का लागि पौडी खेलाडी छनोट प्रक्रिया अत्यन्तै गम्भीर धाँधली र अनियमितताले ग्रस्त भएको भन्दै राष्ट्रिय खेलाडीहरूले विरोध प्रकट गरेका छन्। नेपालका नम्बर एक पौडीबाज इर्भिन श्रेष्ठ, मेधावी केसी लगायतका खेलाडीहरूले नेपाल पौडी संघले पूर्वसञ्चार र नियमको उल्लंघन गर्दै रातारात छनोट मापदण्ड परिवर्तन गरी खेलाडीहरूको मनोबल घटाउने काम गरेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै खेलाडी, प्रशिक्षक र अभिभावकहरूले खेलकुदको विश्वसनीयतामा प्रश्न उठाउँदै न्यायका लागि सर्वोच्च अदालत पुगेको जानकारी गराए।
मुख्य विवाद के हो? नेपाल पौडी संघले गत वैशाख १० गते सूचना जारी गर्दै २०८३ साल जेठ २३ र २४ गते आयोजना गर्न लागिएको ‘तेस्रो नेपाल एक्वाटिक च्याम्पियनसिप’ लाई एसियन गेम्सको ‘प्रि-क्वालिफिकेशन’ (प्रारम्भिक छनोट) को रूपमा घोषणा गरेको थियो। सूचनाअनुसार, उक्त प्रतियोगिताबाट महिला र पुरुषतर्फ ८-८ जनालाई छनोट गरी असारको तेस्रो साता ‘क्वालिफिकेशन’ (अन्तिम छनोट) प्रतियोगिता गराइने तय थियो। तर, जेठ २३ गते पहिलो दिनको खेल समाप्त गरेपछि, २४ गते बिहान बिना छाप र हस्ताक्षरको सूचना सामाजिक सञ्जाल र खेलस्थलमा टाँसिएर सो च्याम्पियनसिपलाई नै ‘अन्तिम छनोट’ मा परिणत गरियो। खेल आधाभन्दा बढी सकिएपछि मापदण्ड परिवर्तन गरिएकोमा खेलाडी इर्भिन श्रेष्ठले ठूलो षड्यन्त्र र धोखाधडी भएको आरोप लगाए।
‘आधी खेल सकिएपछि बिना छाप र हस्ताक्षर सूचना जारी गर्दै प्रि-क्वालिफिकेशनलाई क्वालिफिकेशनमा परिवर्तन गर्नु खेल नियम विपरीत छ। राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जेठ २२ गते ५ दिनभित्र नाम पठाउन भनेको बहाना बनाइएको छ, जबकि आयोजक जापानले असार १७ गते (जुलाई १) सम्मको समय दिएको छ। समय बाँकी छ, कसको स्वार्थका लागि नियम मिचियो?’ नेपालका नम्बर १ पौडीबाज इर्भिन श्रेष्ठले प्रश्न गरे। खेलाडीहरूले प्रविधिमा लापरवाही र डोपिङ जाँचको अभावलाई समेत गम्भीर विषयको रुपमा उठाएका छन्। पहिलो दिनको हिट्सहरु अन्तर्राष्ट्रिय नियम अनुसार आधुनिक प्रविधि ‘टच बोर्ड’ को सट्टा हाते घडी (स्टपवाच) प्रयोग गरिएको उनीहरूको आरोप छ।
अन्तर्राष्ट्रिय खेलको छनोटमा यस्तो लापरवाही हुनु र खेल तालिका पटक-पटक परिवर्तन गर्दा संघको गैरजिम्मेवारी प्रष्ट भएको खेलाडीहरुले बताए। साथै, प्रतिस्पर्धा मा अनिवार्य ‘डोपिङ टेस्ट’ समेत नगरेको जनाए। राष्ट्रिय पौडी खेलाडी मेधावी केसीले यस्तो अन्याय सहनु ठूलो पाप भएको भन्दै खेलकुद क्षेत्रमा यस्ता बेथिति र अनियमितताले देशका प्रतिभाशाली खेलाडीहरू विदेश पलायन भइरहेका बताइन्। उनले भनिन्, ‘जे छनोट भए पनि हाम्रा साथीहरू हुनेछन्, तर प्रक्रिया पूर्व सूचना र नियमअनुसार हुनुपर्छ। भविष्यमा नैतिकता र क्षमतावाला खेलाडीहरू अन्यायमा नपरोस् भनेर हामी आवाज उठाएका हौं। अन्याय गर्ने भन्दा त स्वीकार्नु झन् ठूलो पाप हो।’
पौडी प्रशिक्षक मेघ लामाले खेल तालिका र मापदण्ड बारम्बार परिवर्तन हुँदा खेलाडीहरूको मानसिकता र तयारीमा गम्भीर असर पर्ने बताए। इर्भिनका अभिभावक महेश्वर श्रेष्ठले पनि नियम र भावना विपरीत हुँदै छनोट प्रक्रियाले संघको विश्वसनीयता नै घटाएको टिप्पणी गरे। प्रशिक्षक लामाले भने, ‘घटी-गरे सूचनाहरू र छनोट मापदण्ड बारम्बार परिवर्तन गर्दा खेलाडीप्रति अन्याय भइरहेको छ। खेल तालिका अनुसार खेल आयोजना हुन सके मात्र नतिजा राम्रो आउँछ।’
इर्भिन श्रेष्ठका अभिभावक महेश्वर श्रेष्ठले खेलाडीहरूले मेहनत गरि राखेको लक्ष्य पूरा गर्ने क्रममा अनावश्यक अवरोध आउनु गम्भीर विषय सावित हुनुपर्ने बताए। उनीहरूले खेल नियम र प्रक्रियाअनुसार खेल खेलाउन आग्रह गरे। नियम विपरीत हुनुले खेल सम्बन्धी निकायहरूको विश्वसनीयता उच्चारणमा अन्तर ल्याएकोमा ध्यानाकर्षण गराए।
सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षहरूलाई बुधबार असार ३ गते बोलाएको छ। अदालतले नेपाल पौडी संघ, राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई लिखित जवाफ पेश गर्ने आदेश पनि दिएको छ। असार १७ गतेसम्म खेलाडीहरूको नाम पठाउन समय बाँकी रहेकाले खेलाडीहरूले पौडी संघलाई नियमअनुसार पुनः अन्तिम छनोट आयोजना गरी गल्ती सच्याउन आग्रह गरेका छन्। खेल क्षेत्रमा व्याप्त यस्ता अनियमितताको निष्पक्ष छानबिन नभए समग्र देशकै खेल प्रतिष्ठामा संकट आउने चेतावनी पनि उनीहरूले दिएका छन्।

