परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ व्यवसायीसँग नेपालमा लगानीको आग्रह गरे
२ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै ‘पार–हिमाली’ क्षेत्रको समृद्धिमा योगदान पुर्याउन आग्रह गरेका छन्। चीनको चार दिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले मंगलबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा व्यक्त गरे। मन्त्री खनालले नेपालको आर्थिक अवसर र जनसांख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्ने उद्देश्यले राजदूतावासले आयोजना गरेको सम्मेलनकै क्रममा उनले चिनियाँ व्यवसायी, उद्यमी र लगानीकर्तासँग भेटघाट पनि गरेका थिए। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरहरूबारे नेपाल लगानी बोर्डका प्रतिनिधिले प्रस्तुतीकरण गरेको थियो। मन्त्री खनालले मंगलबार बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गरेका छन्। –रासस

