२ असार, काठमाडौं । एसियाली फुटबल टिम जोर्डनले फिफा विश्वकप २०२६ मा पहिलो पटक प्रतिस्पर्धा गर्दै अस्ट्रियासँग खेल्ने मौका पाएको छ। उत्तर अमेरिकास्थित संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा चार नयाँ टोली सहभागी भएका छन् जसमा कुरासाओ र केप भर्डेले डेब्यु गरिसकेका छन्। समूह जे मा रहेको जोर्डनले बुधबार बिहान ९:४५ बजे यूरोपेली राष्ट्र अस्ट्रियासँगको खेलबाट विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो पहिलो पाइलो चाल्नेछ। फिफा वरियतामा अस्ट्रिया २४औं र जोर्डन ६३औं स्थानमा छन्। विश्व कपमा ३९ स्थान माथि रहेको अस्ट्रियालाई सामना गर्दै जोर्डनले सुखद परिणाम ल्याउने लक्ष्य राखेको छ।
अस्ट्रिया दुई पटक विश्वकप सेमिफाइनलसम्म पुगेको टिम हो। सन् १९३४ मा पहिलो पटक सेमिफाइनल पुगेको अस्ट्रिया २० वर्षपछि सन् १९५४ मा तेस्रो स्थानमा पुग्यो। त्यसपछि केवल सन् १९८२ मा समूह चरण पार गर्न सफल भएको थियो। विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल भएको सन् १९५४ मा अस्ट्रिया र स्विट्जरल्याण्डबीचको खेलमा १२ गोल भएका थिए। अस्ट्रियाले सो खेल ७-५ ले जितेर ३ गोलले पछि परेको स्थिति उल्टाएको थियो। अस्ट्रियाले विश्वकपमा पहिलो पटक एसियाली टिमसँग प्रतिस्पर्धा गर्न लागेको यो अवसर हो। जोर्डनले ५ जुन २०२५ मा एसियाली छनोटमा ओमानलाई ३-० ले हराउँदै पहिलो पटक विश्वकप स्थान सुनिश्चित गरेको थियो। जोर्डनका मुख्य प्रशिक्षक जमल सेलामी सन् १९८६ को फिफा विश्वकपमा मोरक्को टिमका सदस्य थिए।

