Skip to main content

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका–इरानबीचको ‘इस्लामावाद एमओयू’ मा हस्ताक्षर गरे

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीचको ऐतिहासिक ‘इस्लामावाद एमओयू’ सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरेका छन्। यस सम्झौताअनुसार इरानले तत्काल होर्मुज स्ट्रेट खोल्ने र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउने सहमति भएको छ। प्रधानमन्त्री सरिफले यो ऐतिहासिक सम्झौता गराउन कतार, साउदी अरब, टर्की र इजिप्टले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्। ४ असार, काठमाडौं।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरेका छन्। सरिफले ‘इस्लामावाद एमओयू’मा हस्ताक्षर गरेका हुन्। पाकिस्तानको प्रधान मन्त्री कार्यालयका तर्फबाट बिहीबार जारी भिडिओमा सरिफ सम्झौतापत्रमा हस्ताक्षर गरिरहेको देखिन्छ। यसअघि त्यो सम्झौताका दुई पक्ष अर्थात् अमेरिका र इरानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सरिफले त्यसअघि सम्झौता तत्काल लागु हुने बताएका थिए।

सरिफले एक्समा अगाडि लेखेका छन्, ‘मलाई यो कुरा बताउँदा गर्व महशुस भइरहेको छ। अमेरिका र इरानबीच ऐतिहासिक इस्लामावाद एमओयू इलेक्ट्रोनिक रूपमा हस्ताक्षर भएको छ। यस सम्झौतामा दुवै देशका राष्ट्रपतिले हस्ताक्षर गरेका छन् र मैले मध्यस्थताको हैसियतमा यसलाई मञ्जुरी दिएको छु।’ दुवै सरकारले उच्च स्तरबाट सम्झौतापत्रमा हस्ताक्षर गर्नुले दुवै पक्ष संघर्षको समाधान वार्ताबाट निकाल्न गम्भीर रहेको देखिएको प्रधानमन्त्री सरिफले भनेका छन्।

‘इस्लामावाद एमओयू तत्काल लागु हुनेछ। पहिलो कदम स्वरूप इरान तत्काल होर्मुज स्ट्रेट खोल्ने र अमेरिका तत्कालै नौसेनाको नाकाबन्दी हटाउनेछ,’ सरिफले एक्समा लेखेका छन्। प्रधानमन्त्री सरिफले अमेरिका र इरानका शीर्ष नेताप्रति आभार व्यक्त गरेका छन्। यस्तै, यो काममा कतारको भूमिकाको पनि जानकारी दिएका छन्। सरिफले साउदी अरब, टर्की, इजिप्टका नेताले पनि सम्झौता गराउनमा योगदान रहेको भन्दै सराहना व्यक्त गरेका छन्।