युक्रेनले मस्कोमा गर्यो ठूलो हमला, जेलेन्स्कीले भने– ‘१५ जुनको बदला’
४ असार, काठमाडौं । युक्रेनले ड्रोन मार्फत् रुसको राजधानी मस्कोमा ठूलो हमला गरेको छ। यो हमला रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले मस्कोमा गरेको सबैभन्दा ठूलो हमला भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। करिब २०० ड्रोनले मस्कोका विभिन्न लक्ष्यहरूमा विष्फोट गराएको जानकारी प्राप्त भएको छ। विष्फोटका कारण कैयौं स्थानमा आगजनी भएको र ठूलो धुँवा निस्किएको तस्वीरहरू पनि आएका छन्। मस्कोका गभर्नर आन्द्रे भोरोब्योभले युक्रेनको यस हमलामा १७ जना घाइते भएको बताएका छन्।
रुसी रक्षा मन्त्रालयले पछिल्ला २४ घण्टामा देशभर कम्तीमा एक हजार युक्रेनी ड्रोन र चार क्रुज मिसाइल खसालिएको जनाएको छ। यस्तै, रुसको दक्षिणी क्षेत्रमा रहेको रोस्तोभ क्षेत्रको एक तेल भण्डारमा पनि हमला भएको समाचार छ, जहाँ एक जनाको ज्यान गएको भनिएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो हमला ‘१५ जुनको बदला’ भएको बताएका छन्। बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले रुसले १५ जुनमा युक्रेनको राजधानी किभमा गरेको हमलाको प्रतिशोधमा यो हमला गरिएको बताएका छन्।
रुसको त्यो हमलामा किभमा ४ र देशभर ९ जनाको मृत्यु भएको थियो। जेलेन्स्कीले भनेका छन्, ‘यदि युक्रेन जल्छ भने तपाईँको मस्को पनि जल्नेछ’, र थपे, ‘युक्रेन हरेक हमलाको जवाफ दिन्छ। चुपचाप बस्दैन।’ उनले रुसलाई तत्काल युद्ध समाप्त गर्न पनि आग्रह गरेका छन्, ‘अब यो युद्ध समाप्त गर्ने समय आइसकेको छ। रुसले कूटनीतिक क्षेत्रमा आवश्यक कदम उठाउन जरुरी छ,’ उनले भने। जेलेन्स्कीले आफूले कहिल्यै युद्ध नचाहेको पनि बताएका छन्, ‘हामी युद्ध चाहदैनौँ र कहिल्यै चाहेका पनि थियैनौँ। तर, युक्रेन जल्छ भने तपाईँको मस्को पनि जल्छ।’

