भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६–० को फराकिलो अन्तरले जित दर्ता गर्दै विश्वकप इतिहासमा नयाँ अध्याय लेखेको छ। क्यानडाले फिफा विश्वकप–२०२६ मा कतारलाई पराजित गर्दै पहिलो पटक विश्वकपको इतिहासमा जीत पाएको हो। यस जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने कतारका दुई खेलाडीले रातो कार्ड पाए। यो जितसँगै क्यानडाले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
सहआयोजक क्यानडाले विश्वकप–२०२६ मा उत्कृष्ट प्रदर्शन जारी राख्दै फराकिलो जीत हात पारेको हो। खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाए। २९औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। ३३औं मिनेटमा हमाम अहमदलाई रातो कार्ड देखाइएपछि कतार १० खेलाडीमा सीमित भयो। पहिलो हाफको इन्जुरी समयमा जोनाथनले दोस्रो व्यक्तिगत गोल गर्दै अग्रतालाई अझ मजबूत बनाए।
५१औं मिनेटमा असिम माडिबोलाई पनि रातो कार्ड देखाइएपछि कतार ९ खेलाडीमा सीमित भयो र क्यानडाले त्यस अवसरको फाइदा उठायो। ६४औं मिनेटमा नाथनले गोल गर्दै क्यानडाको अग्रतालाई ४–० पुर्याए। ७५औं मिनेटमा कतारका मोहम्मद मनाईले आत्मघाती गोल गर्दा अग्रता ५–० मा पुऱ़्याइयो। दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाए। यो विश्वकपमा क्यानडाले पहिलोपटक जीत हासिल गरेको हो। पहिले खेलेका दुई विश्वकपमा क्यानडाले कुनै खेल जितेको थिएन।

