स्विट्जरल्यान्डमा प्रस्तावित अमेरिका–इरान शान्ति सम्झौता हस्ताक्षर समारोह स्थगित भएको छ
अमेरिका र इरानबीच आज स्विट्जरल्यान्डमा प्रस्तावित बहुप्रतीक्षित शान्ति सम्झौता अन्तिम समयमा स्थगित भएको छ। दुबै देशबीच बाँकी रहेका प्राविधिक विषयहरू समाधान गर्न आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता गरिने तय भएको छ। शान्ति सम्झौता स्थगित भएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो पूर्वनिर्धारित स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्।
५ असार, काठमाडौं। अमेरिका–इरानबीच प्रस्तावित बहुप्रतीक्षित शान्ति सम्झौता स्थगित भएको छ। स्विट्जरल्यान्डमा आज (शुक्रबार) प्रस्तावित शान्ति सम्झौता हस्ताक्षर समारोह अन्तिम समयमा स्थगित भएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी स्विट्जरल्यान्ड नजाने जानकारी दिएका छन्।
कूटनीतिक स्रोतका अनुसार, अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका लामो वार्तातर्फ केन्द्रित भएको छ। अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम टोलीहरू हाल स्विट्जरल्यान्डका ब्युर्गेनस्टक र ज्युरिखमा बसेर वार्ताको नयाँ ढाँचा व्यवस्थापन गरिरहेका छन्। स्रोतहरूले उक्त सम्झौताका बाँकी र जटिल प्राविधिक विषयहरूमा सहमति जुटाउनका लागि आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन गरिने बताएका छन्।
त्यस्ता छलफलहरूमा सम्झौताका सूक्ष्म र बाँकी रहेका विषयहरू टुङ्गोमा पु-याउने प्रयास गरिनेछ। शान्ति सम्झौता सम्बन्धी तयारीमा देखिएको अप्रत्याशित परिवर्तनले पाकिस्तानको आधिकारिक भ्रमण तालिकामा समेत प्रभाव पारेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्। समाचारमा भनिएको छ, ‘समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डा सफलतापूर्वक पुरा भइसकेकाले शरीफको भ्रमण आवश्यक नदेखिएको निष्कर्ष गरिएको हो।

