५ असारमा काठमाडौंमा स्नेहा’ज केयर र आईपीएफएन नेपालको सहकार्यमा पशुबलि प्रथा अन्त्यका लागि ‘आध्यात्मिक संवाद’ कार्यक्रम सम्पन्न भयो। स्नेहा श्रेष्ठले भनिन्, ‘जहाँ पूजा–आराधना गरिन्छ, जहाँ भक्तिभाव राखिन्छ त्यहाँ हत्या र हिंसा हुनु विडम्बना हो’, साथै उनले जोड दिइन्, ‘यस्तो प्रथा अब अन्त्य गर्नुपर्नेछ।’ धर्म–परम्पराको नाममा हुने पशुबलि प्रथामा पुनर्विचार आवश्यक रहेको उनको भनाइ थियो।
पशु बलि अन्त्यका लागि गरिएको यो बहसमा विभिन्न आध्यात्मिक गुरु तथा जनस्वास्थ्यविद् लगायतका व्यक्तिहरूको सहभागिता थियो। जनस्वास्थ्यविद् अरुणा उप्रेतीले पशुबलिलाई समाजमा रहेको एक हानिकारक अभ्यासका रूपमा वर्णन गर्दै समयानुकूल परिवर्तन आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘पहिले सती प्रथा पनि यस्तै कुरीति मानिन्थ्यो, अहिले त्यो छैन। बलिप्रथालाई पनि यसरी नै अन्त्य गर्नुपर्छ।’
आध्यात्मिक गुरु रामचन्द्र भण्डारीले बलिको वास्तविक धार्मिक अर्थ ‘त्याग’ भएको स्पष्ट पारे। उनले धर्मग्रन्थहरूमा बलिलाई हिंसासँग नभई आत्मसंयम, त्याग र सकारात्मक परिवर्तनसँग जोडेर व्याख्या गरिएको बताउँदै धार्मिक अभ्यासको सही अर्थ बुझ्न आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी आध्यात्मिक गुरुहरूले जीवप्रतिको सम्मान, करुणा र अहिंसाको संस्कृतिलाई समाजमा थप बलियो बनाउन धार्मिक समुदायहरूले अग्रणी भूमिका खेल्नुपर्ने धारणा प्रकट गरे। उनीहरूले धार्मिक विश्वास र सांस्कृतिक अभ्यासलाई समयसापेक्ष रूपमा व्याख्या गर्दै मानवता, सहिष्णुता र जीवमैत्री मूल्यहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

