प्रधानमन्त्री कार्यालयको पहलमा हेटौंडा कपडा उद्योग सञ्चालन, सरसफाइ अभियान सुरु
समाचार सारांश करिब दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रत्यक्ष पहल थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले यसै आर्थिक वर्षभित्र हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी छन्। उद्योग बन्द भएको लामो समयपछि सुरक्षा निकायहरूले संयुक्त रुपमा कपडा उद्योग परिसरको सरसफाइ सुरु गरेका छन्। ५ असार, हेटौंडा।
करिब दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको छ। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार प्रधानमन्त्री कार्यालयले कपडा उद्योग संचालनमा प्रत्यक्ष संलग्नता जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पनि उद्योगको अनुगमन गरिसकेकी छन्। मन्त्रीसहित टोलीले अनुगमन गरेपछि प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी तीव्र भएको जानकारी दिए।
प्रधानमन्त्री कार्यालयबाट हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामासँग कपडा उद्योग सञ्चालन विषयमा दुई दिनअघि टेलिफोनमार्फत पनि छलफल भएको थियो। नगर प्रमुख लामाले उपमहानगरपालिकाको भूमिकाबारे प्रधानमन्त्री कार्यालयसँग संवाद भएको जानकारी गराइन्। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको सम्पूर्ण बजेट कपडा उद्योग सञ्चालनको लागि उपलब्ध गराउन तयार रहेको जवाफ आफूले दिएको लामाले बताइन्।
प्रमुख लामाले भनिन्, “प्रधानमन्त्री कार्यालयको पहलले कपडा उद्योग सञ्चालन हुने विश्वस्तता मिलेको छ। यो उद्योग सञ्चालनमा आए देशको आर्थिक विकासमा ठूलो योगदान हुनेछ र रोजगारी सिर्जना सहित हेटौंडा र आसपासका क्षेत्रहरू पनि जीवित हुनेछन्।” प्रधानमन्त्री कार्यालयको चासोका कारण नगर प्रमुख लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कपडा उद्योगको अनुगमन गरेका छन्। मन्त्री यादवले जेठ १० मा उद्योग अनुगमन गरिसकेकी छिन्। मन्त्री यादवले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटको प्रश्नहरु प्रतिनिधिसभामा उठाइएपछि जवाफ दिँदै सरकारले यसै वर्ष हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी गरेको बताइन्।

