एयर फोर्स वन: कतारबाट उपहारस्वरूप आएको विलासी जहाज सार्वजनिक गर्दै ट्रम्पले प्रशंसा व्यक्त गरे
राष्ट्रपति डोनल्ड ट्रम्पले एयर फोर्स वनका लागि प्राप्त नयाँ बोइङ ७४७-८ जेट सार्वजनिक गरेका छन्। कतार सरकारले उक्त विमान गत वर्ष अमेरिकालाई “निःशुल्क” उपहारस्वरूप दिएको थियो। अमेरिकी सेनाले उक्त विलासी जम्बो जेटमा परिमार्जनका कामहरू पूरा गरेको छ। यसको अनुमानित मूल्य ४० करोड अमेरिकी डलर रहेको छ। “यो विमान पहिले कुनै पनि समयमा नभएको विलासितासाथ ‘उड्ने ह्वाइट हाउस’ मा परिणत भएको छ,” ट्रम्पले शुक्रबार जोइन्ट बेस एन्ड्रयूजमा मन्तव्य दिँदै भने।
अमेरिकी वायुसेनाले प्रेस विज्ञप्तिमा जनाए अनुसार राष्ट्रपतिको यात्रामा प्रयोग हुनुअघि उक्त जेटले परिमार्जनहरू परीक्षण गर्न “अन्तिम परीक्षण” को रूपमा प्रारम्भिक कमिसनिङ उडानहरू गर्नेछ। वायुसेनाले भने अनुसार यस जेटमा गरिएका परिमार्जनहरूमा सुरक्षा, मिशन सञ्चार भनिने अत्यन्त संवेदनशील र गोप्य सूचना आदान प्रदान, बन्दोबस्त सहायता तथा उन्नत प्रविधिमा आवश्यक स्तरोन्नति समावेश छन्। यसअघिको विमान “मालिक” बाट हुनसक्ने कुनै सम्भावित खतरा “निष्क्रिय” गरिएको छ भनी वायुसेनाले जनाएको छ।
परिवर्तन विमानको भित्री भागमा न्यूनतम मात्र गरिएको छ भने बाहिरी भागमा ताजा रातो, सेतो, नीलो र सुनौलो रंग रोगन गरिएको छ। सन् २०२५ को मे महिनामा कतारी राजपरिवारले राष्ट्रपतिलाई हवाई यातायात प्रदान गर्ने एयर फोर्स वन नामक विमानहरूको समूहको रूपमा प्रयोग गर्न अमेरिकी रक्षा मन्त्रालयलाई उक्त विलासी बोइङ ७४७-८ उपहारस्वरूप दिएको थियो। गत वर्ष उक्त विमान उपहारको खबर सार्वजनिक हुँदा यसले ट्रम्पका केही सहयोगीसहित दुवै पक्षबाट कडा प्रतिक्रिया ल्याएको थियो।
आलोचकहरूले यस्तो महँगो उपहार स्वीकार गर्नुले स्वार्थको द्वन्द्व निम्त्याउने र त्यो असंवैधानिक हुनसक्ने तर्क गरेका थिए। संघीय कानुनअनुसार अमेरिकी अधिकारीहरूले ४८० अमेरिकी डलरभन्दा कम मूल्यका उपहारहरू मात्र स्वीकार गर्न सक्ने भए तापनि ह्वाइट हाउसले सो विमान स्वीकार गर्नु कानूनी भएकोमा जोड दिएको छ। ट्रम्पले पद छाडेपछि जहाज ट्रम्पको राष्ट्रपति पुस्तकालयमा दान गरिने जानकारी पनि दिएका छन्। “यस विमानको निर्माणशैली यति उत्कृष्ट छ कि जब तपाईं यसलाई हेर्नुहुन्छ तब तपाईंलाई विश्वास लाग्न गाह्रो हुन्छ,” ट्रम्पले भने।

