Skip to main content

ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण सुरु गर्ने

ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टरले न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौतामा पुगेका छन्। ‘सँगै खेलौं’ नामक कार्यक्रमको पहिलो चरणमा २० जना बालबालिकालाई तीन महिनासम्म प्रत्येक शनिबार फुटबल प्रशिक्षण प्रदान गरिनेछ। यस कार्यक्रमले अटिजम र डाउन सिन्ड्रोम भएका बालबालिकाको सामाजिक सञ्जाल, आत्मविश्वास र शारीरिक तन्दुरुस्ती विकास गर्ने लक्ष्य राखेको छ।

‘फुटबल सबैका लागि हो’ भन्ने नारासहित ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टर (टीएफटीसी) र नियो चाइल्ड कियर सेन्टरबीच सम्झौता भएको छ। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र गोलरक्षक बिकेश कुथुद्वारा सञ्चालित टीएफटीसीले राष्ट्रिय फुटबल टोलीका पूर्व फिजियोथेरापिस्ट शमेद कटिला श्रेष्ठ र सुरज भुसालद्वारा सञ्चालित नियो चाइल्ड कियर सेन्टरसँग सहकार्यमा ‘सँगै खेलौं: लेट्स प्ले टुगेदर’ नामक विशेष कार्यक्रम सञ्चालन गर्न लागि परेका हुन्।

नियो चाइल्ड कियर सेन्टरले अटिज्म स्पेक्ट्रम डिसअर्डर (एएसडी), डाउन सिन्ड्रोम तथा अन्य न्युरोडाइभर्स बालबालिकालाई शैक्षिक र विशेष सेवा प्रदान गर्दै आएको छ। दुवै संस्थाले खेलकुदमार्फत उनीहरूका लागि समावेशी वातावरण सिर्जना गर्ने लक्ष्य लिएर काम गरिरहेका छन्। सम्झौताअनुसार नियो चाइल्ड कियर सेन्टरले इच्छुक बालबालिकाको मूल्याङ्कन गरी प्रशिक्षणको लागि सिफारिस गर्नेछ भने टीएफटीसीले ती बालबालिकालाई फुटबल प्रशिक्षण प्रदान गर्नेछ।

कार्यक्रमको प्रभावकारिता र सहभागीको प्रतिक्रिया हेरेर प्रशिक्षण अवधि थप गर्ने योजना रहेको जनाइएको छ। सामान्य बालबालिकाको नियमित ग्रासरुट प्रशिक्षण र न्युरोडाइभर्स बालबालिकाको प्रशिक्षण फरक समयमा सञ्चालन गरिने छ। फुटबलमाध्यमबाट उनीहरूको सामाजिक अन्तरक्रिया, सञ्चार क्षमता, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती र समूहमा काम गर्ने सीप विकास गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ।