Skip to main content

इरानले युद्धविराम उल्लङ्घनका कारण होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गर्यो

६ असार, काठमाडौं । अमेरिकासँगको युद्धविराम सम्झौता उल्लङ्घन भएपछि इरानले पुनः होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेको छ। इरानको युद्ध निगरानी निकाय आतम अल अम्बिया मुख्यालयले होर्मुज स्ट्रेट जहाजहरूको आवतजावतका लागि फिर्ता बन्द गर्ने तयारीमा रहेको जानकारी दिएको छ। बीबीसीका अनुसार, अल अम्बिया मुख्यालयले अमेरिकासँग भएको युद्धविराम सम्झौताको सर्तहरू उल्लङ्घन भएकाले यो कदम उठाउनुपर्ने स्थिति आएको बताएको छ।

त्यसैगरी, उक्त निकायले इजरायलले दक्षिणी लेबनानमा निरन्तर आक्रमण गर्दै क्रूर नरसंहार गरेको आरोप लगाएको छ। इरानी रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले पनि होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने सबै जहाजका लागि मार्ग बन्द गर्ने घोषणा गरेको छ। आईआरजीसी ले अमेरिकाले र इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप पनि लगाएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने होर्मुज स्ट्रेट बन्द भएको समाचारलाई अफवाह ठहर गरेका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्ला रहेको जानकारी दिएका छन्। उनले इरानले होर्मुज स्ट्रेट बन्द गरेको कुनै प्रमाण फेला नपरेको समेत बताएका छन्।