Skip to main content

नर्वेमा नेपालगन्ज म्याराथनलाई एम्स सामाजिक पुरस्कार प्रदान

एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान गरेको छ। एम्सका अध्यक्ष पाको बोराओले नर्वेको ट्रम्सोमा आयोजित २५औं वर्ल्ड कंग्रेसमा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई सो अवार्ड प्रदान गर्नुभयो। विस्तृत शान्ति सम्झौताको स्मरणमा २०७२ सालदेखि शुरू भएको नेपालगन्ज म्याराथनले सामाजिक सद्भाव, जलवायु परिवर्तन र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप यो अवार्ड पाएको हो।

विश्वभरका धावकहरूको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६’ दियो। नर्वेमा भएको एम्सको २५औं विश्व सम्मेलन ट्रम्सोमा शुक्रबार राति विशेष समारोहमा यो पुरस्कार प्रदान गरिएको हो। एम्सका अध्यक्ष पाको बोराओले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई पुरस्कार बितरण गरे।

विश्वव्यापी दौड आयोजकहरूमध्येबाट एकलाई चयन गरिने ‘एम्स सोसल अवार्ड’ अत्यन्त प्रतिष्ठित मानिन्छ। एम्समा विश्वभरबाट करिब पाँच सय बढी दौड आयोजक सदस्य छन्। त्यहाँ अधिकांश सदस्यहरू नर्वेको ट्रम्सोमा जम्मा भएका छन्। बर्लिन म्याराथनका संस्थापक तथा एम्सका सहसंस्थापक ९० वर्षीया हर्स्ट मिल्डे पनि कार्यक्रममा उपस्थित थिइन्।

प्रतिष्ठित म्याराथन आयोजकहरूबाट पुरस्कार पाउँदा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी खुशी व्यक्त गरे। ‘यो अनपेक्षित उपलब्धि जस्तो लाग्छ, अब नेपालमा म्याराथनको विस्तार र प्रतिष्ठा अझ बढ्ने आशा छ,’ संस्थापक ठकुरीले भने, ‘यो सम्मान नेपालगन्ज म्याराथन मात्र होइन, सम्पूर्ण देशले पाएको हो किनभने यो एम्सको एकमात्र सामाजिक पुरस्कार हो।’