Skip to main content

मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदै

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजना अन्तर्गत आइतबारदेखि मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगितामा सहभागी ८ टोलीमध्ये शीर्ष चार स्थानमा रहने टोलीहरूले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आयोजना हुने चार दिने प्रतियोगिता सञ्चालनका लागि करिब २७ लाख रुपैयाँ खर्च हुने जनाइएको छ। ६ असार, काठमाडौं।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइने योजना छ। समूह ‘ए’ मा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, सरस्वती मावि, हेलम्बु, अमर ज्योति प्राविधिक विद्यालय, नुवाकोट र एन्जल्स स्पोर्ट्स एकेडेमी रहेका छन्। समूह ‘बी’ मा न्यु डायमन्ड एकेडेमी, एलिक्सर एकेडेमी, गणेश हिमाल स्कुल र सूर्य विनायक, भक्तपुर रहेका छन्।

शीर्ष चार स्थानमा रहने टोलीहरूले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् भनी प्रतियोगिता संयोजक तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीले जानकारी दिए। उत्कृष्ट खेलाडीलाई १० हजार र उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई प्रत्येकलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। अफिसियल बल पार्टनर मोल्टन रहेको छ।

अध्यक्ष आचार्यले सबै वर्गका मानिसलाई खेलकुदमा सहभागी गराउने लक्ष्यले एकेडेमीले देशका विभिन्न स्थानमा विविध खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। संयोजक केसीले भविष्यका प्रतिभाशाली खेलाडी पहिचान गर्न उमेर समूहको प्रतियोगिता महत्वपूर्ण माध्यम रहेको धारणा व्यक्त गरे। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २७ लाख रुपैयाँ खर्च हुने छ। मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आयोजना हुने चार दिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको मैदानमा खेलिनेछ।