Skip to main content

बेल्जियम र इरानबीचको खेलमा पहिलो जितको खोजी

आफ्नो पहिलो खेलमा बराबरी खेलेका दुवै टोली आज राति पौने एक बजे बेल्जियम र इरानबीच प्रतिस्पर्धा गर्दैछन्। फिफा विश्वकप २०२६ अन्तर्गत आजको खेलमा जित हासिल गरेर अन्तिम ३२ मा स्थान सुरक्षित गर्न चाहन्छन्। बेल्जियमका मुख्य स्ट्राइकर रोमेलु लुकाकु सुरुवाती टोलीमा फर्कने सम्भावना छ भने जेरेमी डोकूले खेल गुमाउनेछन्। ७ असार, काठमाडौं।

फिफा विश्वकप २०२६ मा आज राति समूह ‘जी’ का बेल्जियम र इरान खेल्दैछन्। उक्त खेल लस एन्जलस स्टेडियममा राति पौने एक बजेबाट सुरु हुनेछ। दुवै टोली आफ्नो पहिलो खेलमा सुरुवाती अग्रता उल्टाउँदै संघर्षपूर्ण बराबरी खेल्न सफल भएका थिए। बेल्जियमले इजिप्टसँग १–१ र इरानले न्युजिल्याण्डसँग २–२ को बराबरी खेलेका थिए। समूहका सबै चार टोलीको समान १–१ अंक रहेकाले आजको खेल जित्ने टोलीले अन्तिम ३२ मा आफ्नो स्थान लगभग सुरक्षित गर्नेछ।

फुटबल इतिहासमा यी दुई देश पहिलो पटक एकअर्काविरुद्ध मैदान उत्रिन लागेका हुन्। इरान तुलनात्मक रुपमा बलियो मानिएको बेल्जियमलाई रोक्ने प्रयासमा हुनेछ। बेल्जियम भने इरानमाथि सहज जित निकाल्दै नकआउट चरणमा आफ्नो सम्भावना बलियो बनाउने लक्ष्यमा छ। फिफा वरियतामा बेल्जियम नवौं र इरान २२औं स्थानमा छन्।

बेल्जियमका लागि पहिलो खेलमा मैदान प्रवेश गरेलगायत प्रभाव छोडेका स्ट्राइकर रोमेलु लुकाकु आज सुरुवाती ११ मा फर्कने सम्भावना बलियो छ। प्रशिक्षक रुडी गर्सियाले लुकाकु पूर्ण ९० मिनेट फिट नभए पनि खेलको सुरुवातदेखि नै इरानी डिफेन्सलाई दबाबमा राख्न उनलाई मैदानमा उतार्न सक्छन्। कप्तान केभिन डे ब्रुइन र युरी टिलेमान्सले मिडफिल्डबाट आक्रमणको कमान्ड सम्हाल्नेछन्। श्वासप्रश्वास समस्याका कारण विंगर जेरेमी डोकू इरानविरुद्धको खेल गुमाउनेछन्।

इरानको अग्रपंक्तिका मुख्य स्तम्भ ३३ वर्षीय स्ट्राइकर मेहदी तारेमी हुन्। युरोपेली फुटबलको राम्रो अनुभव भएका तारेमी काउन्टर-अट्याक र बक्सभित्रको बलियो पोजिसनिङका लागि परिचित छन्। बेल्जियमको डिफेन्सलाई व्यस्त राख्दै अवसरलाई गोलमा परिणत गर्न उनी आज चम्किन सक्छन्। ३६ वर्षको उमेरमा अघिल्लो खेलमा गोल र असिस्ट गर्दै विश्वकपको इतिहासमा सबैभन्दा बढी उमेरमा यो उपलब्धि हासिल गर्ने एसियाली खेलाडी बनेका रामिन रेजायन पनि टोलीका महत्वपूर्ण सदस्य हुन्।