Skip to main content

जेनजी आन्दोलनका क्रममा वाणिज्य बैंकबाट लुटिएको सुन ऋणीहरूले अझै फिर्ता पाउन सकेका छैनन्

जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुनको मूल्याङ्कन विवादका कारण ऋणीहरूले अझै भुक्तानी पाउन सकेका छैनन्। बैंकले लुटिएकै दिनको मूल्यमा भुक्तानी दिने निर्णय गरे पनि ऋणीहरूले भुक्तानी पाउने दिनको बजार मूल्य माग गरेका छन्। गत भदौमा बैंकको बानेश्वर शाखाबाट १७,९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको थियो। ७ असार, काठमाडौं। जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुन बैंकका ऋणीहरूले अझै फिर्ता पाएको छैनन्। बैंकले दिने भनेको रकम र धितोमा राखिएका ऋणकर्ताहरूले माग गरेको रकमबीच अन्तर हुँदा उनीहरूले सुन वा सो बराबरको रकम भुक्तानी पाउन सकेका छैनन्।

बैंकले लुटिएको दिनको मूल्यमा फिर्ता दिने योजना बनाएको भए पनि ऋणकर्ताहरूले भने सुनको मूल्य तिर्ने दिनको बजार मूल्य अनुसार रकम दिनुपर्ने माग गर्दै आएका छन्। केही सुन धितो राख्नेहरूले बैंकको केन्द्रीय कार्यालयमा समेत धर्ना दिएका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट कुल ३८ करोड ४० लाख रुपैयाँ बराबरको नगद र सुन लुटिएको थियो। ऋणीले धितो राखेको सुन फिर्ता पाउन अझै साढे एक वर्ष नाघिसक्दा पनि सकेका छैनन्, दिपेन्द्र रावलले बताए।

‘बैंकले सुनको मूल्याङ्कन र तौलमा अनावश्यक कटौती गरेका कारण हामीले स्वीकार गरेका छैनौं,’ रावलले भने, ‘ऋणीले धितो राख्दा भएको तौल र भुक्तानी दिने दिनको मूल्य अनुसार फिर्ता पाउनुपर्छ।’ बीमा कम्पनीले लुटिएको दिनकै मूल्य अनुसार मात्र दाबी भुक्तानी गर्ने भएकाले ऋणीलाई पनि सोही अनुसार गर्ने निर्णय गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए। जेनजी आन्दोलनमा बैंकको बानेश्वर शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबरको धनमाल लुटिएको थियो, जसमा १७,९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद रहेको बैंकले जनाएको छ।

यो सुन लुट्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन। धितोमा रहेको सुनको बीमा नेको इन्स्योरेन्समा गरिएको र बीमा कम्पनीले लुटिएको दिनकै मूल्यमा दाबी भुक्तानी गर्ने भएकाले ऋणीलाई त्यही आधारमा फिर्ता दिने फैसला गरिएको रेग्मीले बताए। बीमा कम्पनीले हालको बजार मूल्यमा दाबी भुक्तानी गरेको भए ऋणीले पनि त्यही अनुसार पाउने उनको भनाइ छ। ‘इन्स्योरेन्समा माग गरेपनि सर्भेयरले अन्तिम मूल्याङ्कन गर्न नसक्दा काम रोकिन पुगेको छ,’ उनले भने, ‘बैंकले एउटा निर्णय गरिसकेको छ, जुन हो लुटिएको दिनको तौल र मूल्य समान रूपमा फिर्ता दिने।’ तर सुन धितो राखेर कर्जा लिएका ऋणीहरूले बैंकको उक्त निर्णयमा असन्तुष्टि जनाइ पुनर्विचारको माग गरेका छन्। उनीहरूको निवेदन बैंकको सञ्चालक समितिमा पेश गरिने रेग्मीले बताए।

सञ्चालक समितिबाट पुनर्विचार पश्चात भुक्तानीको निर्णय कार्यान्वयन गरिनेछ उनले थपे। ‘तर अहिले सञ्चालक समिति नभएकाले नयाँ संरचनामा गएपछि मात्र निर्णय हुन सक्छ,’ उनले भने, ‘निवेदकलाई पनि यसबारे जानकारी गराइसकिएको छ।’ निर्वातमान सञ्चालक समितिले गरेको निर्णय अनुसार करिब सय जना ऋणकर्ताले सुन बराबरको रकम भुक्तानी लिइसकेको र राफसाफ समेत गरिसकेको रेग्मीले बताए। बैंकको लुटिएको सुन कुल २२६ जना ऋणीको हो। धितोमा राखी ऋण लिएका व्यक्तिहरूको सुन लुटिएपछि उनीहरूको ब्याजदर मिनाहा गरिएको छ रेग्मीले जानकारी दिए। ‘गत भदौदेखि तिनीहरूको कर्जामा कुनै ब्याज लागू गरिएको छैन,’ उनले भने, ‘यसरी ब्याज मिनाहा गरेको भए पनि धितोमा रहेको सुन फिर्ता सम्भव हुन्थ्यो, विगतमा यस्ता अवस्थामा लुटिएको दिनकै मूल्यमा भुक्तानी गर्ने गरिएको थियो।’ तर ऋणी रावलका अनुसार कर्जा चुक्ता हुँदा धितोमा राखिएको सुन नै फिर्ता दिने सम्झौता गरिएको छ। ‘बैंकले मेरो तौल अनुसार सुन फिर्ता दिने सम्झौता छ, तर घटना भएको दिनको मूल्य फिर्ता दिने भन्ने हो, त्यो पनि एक वर्षपछि,’ उनले बताए। कर्जा बाँकी रहेका ऋणकर्ताहरुको हकमा ति सुनको मूल्य कर्जा परिपक्व हुने दिनको मूल्यमा कायम गर्नुपर्ने उनले जोड दिए। अहिले बैंकले भदौ २४ गतेको मुल्य अनुसार सुन बराबरको रकम दिने र बाँकी ऋण अवशेष भुक्तानी गर्ने प्रस्ताव राखेको छ जुन बेला सुनको मूल्य प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ थियो। अहिले त्यो मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँमा पुगेको छ। ‘द्वन्द्वकालीन अवस्थामा पनि बैंकका विभिन्न शाखाबाट सुन लुटिएको थियो,’ रेग्मीले भने, ‘त्यतिबेला पनि लुटिएको दिनकै मूल्यका दरमा भुक्तानी गरिएको थियो। त्यसैले बैंकको वर्तमान निर्णय पनि सोही आधारमा गरिएको रेग्मीले बताए। उनी भन्छन्, ‘नयाँ संचालक समितिमार्फत धितोमा रहेको सुन लुटिएका ऋणीहरूको निवेदन फेरि पेश गरिनेछ।