Skip to main content

ह्वाट्सएपको नेतृत्वमा परिवर्तन, भारतीय कुनाल शाहले सम्हाल्नेछन् नेतृत्व

८ असार, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो म्यासेजिङ एप ह्वाट्सएपको नेतृत्वमा परिवर्तन भएको छ । ७ वर्षदेखि ह्वाट्सएपको प्रमुख पदमा कार्यरत विल क्याथकार्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा भारतीय फिनटेक कम्पनी ‘क्रेड’का संस्थापक कुनाल शाहलाई नयाँ प्रमुखका रूपमा नियुक्त गरिएको मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले जानकारी दिएका छन्।
सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै जुकरबर्गले उल्लेख गरेका छन् कि ह्वाट्सएप छाडेका विल क्याथकार्ट मेटाभित्रै अर्को नयाँ भूमिकामा कार्यरत हुनेछन्। अब क्याथकार्टले मेटाभित्रै नयाँ उत्पादन विकास गर्ने कार्यको नेतृत्व शुरुआतदेखि नै सम्हाल्नेछन्। क्याथकार्टको ७ वर्षे कार्यकालमा ह्वाट्सएपको प्रयोगकर्ता संख्या ३ अर्बभन्दा माथि पुगेको थियो।
ह्वाट्सएपको नयाँ नेतृत्व सम्हाल्न लागेका कुनाल शाह भारतका प्रतिष्ठित प्रविधि उद्यमी हुन्। उनले स्थापना गरेको ‘क्रेड’ भारतको एक अग्रणी प्रविधि कम्पनी मानिन्छ। जुकरबर्गले शाहको व्यावसायिक दक्षता र विश्व बजारको बुझाइले ह्वाट्सएपलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। “विश्वभरका अर्बौं प्रयोगकर्ता र लाखौं व्यवसायका लागि ह्वाट्सएपलाई अझ उत्कृष्ट बनाउन शाहसँग मिलेर काम गर्न उत्साहित छु,” जुकरबर्गले लेखेका छन्।