देवनगरमा ‘टाइगर स्याङ्चरी’ निर्माण सम्बन्धि सरकारको योजना, मन्त्री चौधरीद्वारा स्थलगत निरीक्षण
८ असार, काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र वरिपरिका क्षेत्रहरूको स्थलगत अवलोकन गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र जैविक विविधता संरक्षणमा सरकार गम्भीर रहेको बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनको क्रममा चितवन पुग्ने क्रममा मन्त्री चौधरीले निकुञ्जका विभिन्न संरक्षण केन्द्र, प्रस्तावित आयोजना र अनुसन्धान प्रयोगशालाहरू निरीक्षण गरिन्। उनले भ्रमणको क्रममा देवनगरमा प्रस्तावित ‘टाइगर स्याङ्चरी’ (बाघ संरक्षण केन्द्र) निर्माणस्थल पनि अवलोकन गरिन्।
देशभर उद्धार गरिएका करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरूलाई खोर (इन्क्लोजर) मा राख्दा व्यवस्थापन अत्यन्त खर्चिलो र चुनौतीपूर्ण हुने पृष्ठभूमिमा सरकारले देवनगरको करिब ५० हेक्टर क्षेत्रफलमा ‘टाइगर स्याङ्चरी’ बनाउने योजना अघि सारेको छ। मन्त्री चौधरीले मानव र वन्यजन्तुको सहअस्तित्व कायम गर्न सरकार दृढ रहेको बताइन्। उनले भनिन्, ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्व कायम गर्नु हाम्रो उच्च प्राथमिकता हो। देवनगरमा टाइगर स्याङ्चरी निर्माण भएपछि साँघुरा खोरमा थुनिएका समस्याग्रस्त र घाइते बाघहरूले मात्र प्राकृतिक वातावरण पाउने छैनन्, यसले चितवनको पर्यटकीय क्षेत्रमा नयाँ आयाम थप्दै ठूलो टेवा पुर्याउने छ।’
यसका लागि आवश्यक पर्ने गुरुयोजना र बजेट सम्बन्धमा उनले निकुञ्ज प्रशासनसँग विस्तृत छलफल गरिन्। मन्त्री चौधरीले खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र निकुञ्ज कार्यालय परिसरमा रहेको घडियाल प्रजनन केन्द्र पनि निरीक्षण गरिन्। स्थापना भएको ३३ वर्षमा ६८ वटा छावा जन्माएर हात्ती संरक्षणमा महत्वपूर्ण योगदान पुर्याइरहेको खोरसोर केन्द्रमा माउ तथा छावाको स्वास्थ्य, आहार व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे उनले अधिकारीहरूसँग जानकारी लिइन्। घडियाल गोही संरक्षण र संख्या वृद्धिका कार्यक्रमहरूले नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा ठूलो भूमिका खेलेको मन्त्री चौधरीले बताइन्।
मन्त्री चौधरीले कृष्णसारको सुरक्षित बसोबास सुनिश्चित गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिइन्। उनले टिकौलीमा रहेको सशस्त्र वनरक्षक तालिम केन्द्रको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार निर्माण र वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिमको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिइन्। मन्त्री चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अत्याधुनिक वन्यजन्तु ‘जेनोमिक ल्याब’ समेत भ्रमण गरिन्। भ्रमण टोलीमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन), डिभिजन वन कार्यालय चितवनका प्रमुख र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव लगायत अन्य अधिकारीहरूको सहभागिता रहेको थियो। स्थानीय समुदायसँग अन्तर्क्रियामा मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व घटाउन राहत, उद्धार र दीर्घकालीन पूर्वाधार निर्माणका कार्यलाई सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्।

