Skip to main content

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्र गुप्ता निर्वाचित

बाराको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा ५२९ मत प्राप्त गरी गजेन्द्र गुप्ता निर्वाचित भएका छन्। उनले अर्का उम्मेदवार मनोजकुमार गुप्तालाई ३३० मतको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो प्यानलसहित जित हात पारेका हुन्। नवनिर्वाचित अध्यक्ष गुप्ताले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका साना तथा मझौला व्यवसायीका समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे। ८ असार, बारा।

संघको तेस्रो अधिवेशन अन्तर्गत आइतबार भएको मतदानमा युवा व्यवसायी गुप्ताको प्यानलले स्पष्ट बहुमत प्राप्त गरेको हो। सोमबार सार्वजनिक मत परिणाम अनुसार अर्का उम्मेदवार मनोजकुमार गुप्तालाई ३३० मतको फराकिलो अन्तरले पछाडि पार्दै गजेन्द्रले जितपुरसिमराको नेतृत्व सम्हाले। अध्यक्षमा गजेन्द्रले ५२९ मत प्राप्त गर्दा मनोजकुमारले १९९ मत ल्याएका छन्।

संघको निवर्तमान कार्यसमितिमा गजेन्द्र वाणिज्य उपाध्यक्ष र मनोजकुमार वरिष्ठ उपाध्यक्ष रहेका थिए। संघको वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार, महासचिवमा प्रकाश गिरी, वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार, कोषाध्यक्षमा रिना रौनियार र वाणिज्य सचिवमा रिता कँडेल निर्वाचित भएका छन्। वाणिज्य सम्बन्धी सदस्यहरुमा अमरेन्द्र यादव, नवरतन कलवार, बलराम पौडेल, बिभा गुप्ता, मनोहर गुप्ता, विजय गुप्ता र मुकुन्द रिजाल निर्वाचित भएका छन्।

उद्योग, वस्तुगत र एसोसिएट सम्बन्धी पदाधिकारी र सदस्यहरु सर्वसम्मत रूपमा चयन भएको नवीन निर्वाचित अध्यक्ष गजेन्द्र गुप्ताले जानकारी दिएका छन्। उद्योग उपाध्यक्षमा विजयकुमार साह, उद्योग सचिवमा मुकेशप्रसाद साह, उद्योग सदस्यमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेस साह निर्विरोध निर्वाचित भएका छन्। एसोसिएट सदस्यमा हिमांशु गोल्छा र वस्तुगततर्फ सूर्यप्रकाश त्रिपाठी निर्विरोध निर्वाचित भएका छन्। विजयी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका साना तथा मझौला उद्योगले भोगिरहेका समस्याहरू र साना व्यवसायीहरूको पीडा आफ्नो मुख्य एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।