कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा विष्फोट, १२ भारतीय नागरिकको मृत्यु
९ असार, काठमाडौं । कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक फ्याक्ट्रीमा विष्फोट हुँदा १२ भारतीय नागरिकसहित कुल १३ जनाको मृत्यु भएको छ। सो फ्याक्ट्रीमा भएको विष्फोटको घटनाले सबैलाई स्तब्ध बनाएको छ। दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै भन्यो, ‘कतारका अधिकारप्राप्त निकायहरूले आइतबार राति रास लाफानमा घटेको घटनामा १२ भारतीय नागरिकको दुखद् निधन पुष्टि गरेका छन्।’
दूतावासले कतारका संबंधित अधिकारीहरूको उद्धरण गर्दै घटनामा घाइते भएका सबैको स्वास्थ्य स्थिति स्थिर रहेको र उपचार जारी रहेको जानकारी दिएको छ। कतारमा आठ लाखभन्दा बढी भारतीय कामदार कार्यरत छन्। भारतीय दूतावासले प्रभावित नागरिक र उनका परिवारको सहयोगका लागि कतारका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै छ। यसमा मृतकको शव चाँडोभन्दा चाँडो भारत पठाउने व्यवस्थासमेत सुनिश्चित गरिएको छ। यसअघि सोमबार प्रेस ब्रिफिङका क्रममा कतारका ऊर्जामन्त्री साद बिन श्रैदा अल-काबीले घटनामा भारत र पाकिस्तानका नागरिक गरी १३ जनाको मृत्यु भएको पुष्टि गरेका थिए।

