चीनमा अत्यधिक वर्षाका कारण ९ हजारभन्दा बढी विस्थापित, विद्यालयहरू बन्द
दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न क्षेत्रमा तीव्र वर्षाका कारण नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा सर्न निर्देशन गरिएको छ भनी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्। प्रभावित क्षेत्रहरूलाई मध्यनजर गर्दै, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन शहरले मंगलबार विहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गरेको र विद्यालयहरू बन्द गर्ने आदेश दिएको जनाइएको छ। अहिलेसम्म बाढीका कारण कुनै जनधनको क्षति भएको खबर प्राप्त भएको छैन।
वर्षाले प्रान्तका केही भागमा बिजुली आपूर्ति अवरुद्ध गरेको र बिजुली आपूर्ति पुनःस्थापनका लागि एक हजारभन्दा बढी पावर ग्रिड मर्मत कर्मीहरू परिचालन गरिएको जनाएको छ। प्रान्तीय मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि मंगलबारसम्म प्रान्तका २० भन्दा बढी काउन्टी–स्तर क्षेत्रहरूमा तीव्र वर्षा भएको छ, जसमा चार ठाउँमा २०० मिमी भन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ।

