Skip to main content

शहबाज सरिफले भने- स्विट्जरल्यान्ड बैठक सफल, ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने

८ असार, काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच स्वित्जरल्यान्डमा सम्पन्न पहिलो उच्च स्तरीय वार्ता सफल भएको घोषणा गर्नुभएको छ। वार्ताका मुख्य मध्यस्थकर्ता भएको नाताले उनले सोमबार एक्समार्फत् वार्ता सफल भएको जानकारी दिनुभएको हो। प्रधानमन्त्री सरिफले उल्लेख गर्नुभएको छ, “इस्लामाबाद सम्झौता समझदारीको रूपरेखाअन्तर्गत पहिलो उच्च–स्तरीय समिति बैठक स्विट्जरल्यान्डको बर्गेनस्टकमा सफलतापूर्वक सम्पन्न भएको छ। छलफल सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको छ।”

उहाँले छलफलमा उत्साहजनक प्रगति भएको बताउनुभयो। “यसमा ६० दिनभित्र अन्तिम सम्झौताका लागि रोडम्यापमा सहमति, राजनीतिक अनुगमनका लागि उच्च–स्तरीय समितिको गठन र थप प्राविधिक वार्ता सुरु गर्ने विषय रहेको छ,” उहाँले भन्नुभएको छ। अमेरिका र इरान दुबैले रचनात्मक संलग्नता र निरन्तर प्रतिबद्धता देखाएकोमा उहाँले प्रशंसा जनाउनुभयो।

“यस ऐतिहासिक प्रक्रियालाई अगाडि बढाउन उहाँहरूको बहुमूल्य समर्थनका लागि सबै भ्रातृ तथा मित्र राष्ट्रहरूलाई धन्यवाद दिन्छु,” प्रधानमन्त्री सरिफले लेख्नुभएको छ। विशेषगरी कतारको भूमिकाप्रति प्रशंसा र कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले वार्ताको सहजीकरणमा स्विस सरकारले, आफ्नै पाकिस्तानी सेनाका फिल्ड मार्शल असिम मुनिर, उपप्रधानमन्त्री इशाक दार, र गृहमन्त्री मोहसिन नक्वीको भूमिकाको पनि प्रशंसा गर्नुभएको छ। “पाकिस्तानले शान्तिपूर्ण र दिगो समाधानतर्फ संवाद र कूटनीतिको अग्रसरता जारी राख्नेछ,” उहाँले भन्नुभएको छ।