अहिले गर्मीको मौसम चलिरहेको छ। गर्मीबाट राहत पाउन शरीरलाई चिसो बनाएर खादा उपयोगी हुने खाना र विभिन्न उपायहरू अपनाइन्छ। प्रायः यस समयमा हल्का र सजिलै पच्ने खानेकुरालाई प्राथमिकता दिइन्छ। तर कतिपय मानिसहरू मौसमअनुसार नभएर आफ्नो मनपर्ने खानाबाट पछि हट्दैनन्। गर्मी होस्, जाडो होस् वा वर्षा, मासु नखाएर खाना नपर्ने धेरै व्यक्ति छन्। स्वास्थ्य विज्ञहरूका अनुसार, गर्मीको समयमा मांसाहारी भोजन, विशेष गरी चिकेन र मटन खानामा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। चिकेन र मटनमा प्रोटिन र बोसोको मात्रा बढी भएकाले पचाउन शरीरलाई थप मेहेनत गर्नुपर्ने हुन्छ। गर्मीको समयमा दिउँसो चिकेन र मटन खानु स्वास्थ्यको दृष्टिले ठीक नभएको विज्ञहरूले सुझाव दिन्छन्।
कुन समस्या हुनसक्छ? १. शरीरको तापक्रम बढ्नु: जब हामी चिकेन वा मटनजस्ता उच्च प्रोटिनयुक्त खाना खान्छौं, शरीरमा ‘थर्मोजेनेसिस’ प्रक्रिया सक्रिय हुन्छ। प्रोटिनलाई पचाउन कार्बोहाइड्रेट र बोसोभन्दा बढी ऊर्जा लाग्छ, जसले शरीर भित्र तापक्रम वृद्धि गर्छ। दिउँसो चिकेन वा मटन खानाले शरीरको तापक्रममा अचानक वृद्धि हुन सक्छ जसले अत्यधिक पसिना आउनु, बेचैनी हुने समस्या देखिन सक्छ। २. पाचनमा समस्या: विशेषज्ञहरूका अनुसार गर्मीको समयमा दिउँसो मेटाबोलिज्म सामान्यभन्दा कम सक्रिय हुन्छ। मटनजस्ता रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ, जसले पच्न लामो समय लगाउँछ। रातो मासु तताएको समयमा खानाले पेट भारी हुने, एसिडिटी, पेट फुल्ने र अपचजस्ता समस्या निम्त्याउन सक्छ। ३. डिहाइड्रेसनको जोखिम: चिकेन र मटन पचाउन धेरै पानी आवश्यक पर्छ। मेटाबोलिज्म बढ्दा र शरीरको तापक्रम बढ्दा पानीको कमी हुन सक्छ। यदि दिउँसो मासु खानुभयो र पर्याप्त पानी नपियौं भने डिहाइड्रेसन हुनसक्छ। यसले चक्कर लाग्नु, कमजोरी र पिसाब संक्रमणजस्ता समस्या ल्याउन सक्छ।
के गर्ने? यदि तपाईं मासु प्रेमी हुनुहुन्छ भने गर्मी बेलामा सुत्नुभन्दा कम्तीमा २-३ घण्टा अगाडि बेलुका मासु खानु उपयुक्त हुन्छ। मासु तयार पार्दा कडा मसला र धेरै तेल प्रयोग नगर्नु आवश्यक हुन्छ। दिउँसो हल्का ग्रिल गरिएको चिकेन वा चिकेनको सुप खादै जान सकिन्छ। तर खसी जस्तो रातो मासु दिउँसो नखानु नै उत्तम मानिन्छ।

