Skip to main content

ट्रम्पले आफ्नै पार्टीका सिनेटरलाई ‘हार्ने व्यक्ति’ र ‘खराब’ भने

११ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार अत्यन्तै आक्रोशित देखिए। रिपब्लिकन सिनेटरहरूसँगको बैठकपछि लुइजियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले राष्ट्रपतिको मनोदशाबारे भने, ‘उनी मर्डर हर्निट जत्तिकै रिसाएका थिए।’ बैठकमा सहभागीहरूका अनुसार ट्रम्प आफ्नै पार्टीका सदस्यहरूप्रति गुनासोहरूको लामो सूची बोकेर क्यापिटल हिल पुगेका थिए। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको जितका लागि महत्त्वपूर्ण मानिएको मतदानसम्बन्धी नयाँ प्रतिबन्ध लगाउने विधेयक पारित गराउन पार्टी असफल भएकोमा उनले असन्तुष्टि व्यक्त गरे। साथै, उनले वर्षौँ पुराना कानुनी विवादहरूबारे आक्रोश पोखे, सिनेटको ‘फिलिबस्टर’ (बहस लम्ब्याउने नियम) हटाउन रिपब्लिकनहरूले अस्वीकार गरेकोमा गुनासो गरे र रोकिएका न्यायिक नियुक्तिहरू अगाडि बढाउन सिनेटरहरूलाई दबाब दिए। तर, उनलाई सबैभन्दा बढी क्रुद्ध बनाउने विषय भने आफ्नै पार्टी रिपब्लिकनको नियन्त्रण रहेको सिनेटबाट इरान युद्धविरूद्ध प्रस्ताव पास हुनु थियो। अघिल्लो दिन पार्टी निर्णयविपरीत प्रस्तावको पक्षमा मतदान गरेका चार रिपब्लिकन सिनेटर थिए। डेमोक्र्याटले ल्याएको उक्त प्रस्तावले राष्ट्रपतिलाई इरानविरुद्धको सैन्य कारबाही जारी राख्न वा रोक्नुअघि संसद्को अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। चार रिपब्लिकन सिनेटरको समर्थनपछि प्रस्तावमा मतदान हुँदा युद्ध रोक्नुपर्ने प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो। यसलाई ट्रम्पका लागि ठूलो झट्काको रूपमा हेरिएको छ। ट्रम्पको युद्ध व्यवस्थापनमाथि दुवै दलका सांसदहरूको दुर्लभ संयुक्त आलोचना प्रस्तुत भएपदी आक्रोशित भएका थिए। ‘कुनै व्यक्तिले युद्ध अधिकार ऐनको पक्षमा किन मतदान गर्छ?’ ट्रम्पले आक्रोशित हुँदै प्रश्न उठाए। क्यासिडी र अन्य सहभागीहरूका अनुसार राष्ट्रपतिले आफूलाई प्रश्न गरिएको मन पराएनन् र संवाद चाँडै भनाभन तथा चिच्याहाटमा परिणत भयो। केही समयका लागि सिनेटरहरू मौन रहे। त्यसपछि गत महिना ट्रम्प समर्थित उम्मेदवारसँग प्राथमिक निर्वाचनमा पराजित भएका लुइजियानाका रिपब्लिकन सिनेटर बिल क्यासिडीले राष्ट्रपतिको युद्ध व्यवस्थापन शैली र संसद्लाई पर्याप्त जानकारी नदिएको विषयमा कड़ा आलोचना गरे। ‘म उभिएर भनेँ, ‘तपाईंले अमेरिकी जनतालाई त्यहाँ वास्तवमा के भइरहेको छ भनेर बताउनुभएको छैन,’ क्यासिडीले पछि सम्झिए, ‘यो चार हप्ता चल्ने भनिएको थियो, तर चार महिना बितिसक्यो। सुरुवाती उद्देश्यहरू अझै पूरा भएका छैनन्। म त्यहाँ वास्तवमा के भइरहेको छ भन्ने जान्न चाहन्छु।’ युद्ध अधिकार प्रस्तावको पक्षमा मतदान गर्ने चार रिपब्लिकनमध्ये एक रहेका क्यासिडीले यस विषयमा आफ्नो असन्तुष्टि झन् बढेको बताए। उनका अनुसार ट्रम्पले संसद्को अनुमतिबिना सञ्चालन गरिरहेको द्वन्द्वबारे सिनेटरहरूले अहिलेसम्म कुनै विस्तृत ब्रिफिङ पाएका छैनन्। क्यासिडी र अन्य सहभागीहरूका अनुसार राष्ट्रपतिले आफूलाई प्रश्न गरिएको मन पराएनन् र संवाद चाँडै भनाभन तथा चिच्याहाटमा परिणत भयो। ‘तपाईं चुनाव हार्नुभयो,’ ट्रम्पले क्यासिडीलाई लक्षित गर्दै चिच्याए र उनलाई ‘लुजर’ भने। दुवैबीच तीव्र वादविवाद भयो। ‘यदि कसैले मलाई धम्क्याउन खोज्छ भने म त्यो सहेर बस्ने छैन,’ क्यासिडीले पछि भने। उनले थपे, ‘राष्ट्रपतिसामु उभिँदा म माफी माग्दिनँ। म राष्ट्रपतिसँग कुरा गरिरहेको भए पनि वास्तवमा अमेरिकी जनताको पक्षमा बोलिरहेको छु।’ ट्रम्पको आक्रोश केवल एउटा मतदानको परिणाम मात्र थिएन। राजनीति र नीतिगत विषयलाई लिएर उनी र सिनेटका रिपब्लिकनहरूबीच हप्तौँदेखि तनाव बढ्दै आएको थियो। बुधबारको बैठकअघि नै राष्ट्रपतिले एउटा प्रमुख द्विदलीय आवाससम्बन्धी विधेयकको हस्ताक्षर समारोह अचानक रद्द गरिदिएका थिए। रिपब्लिकन नेताहरूले मध्यावधि निर्वाचनअघि महँगी नियन्त्रणका प्रयासलाई उजागर गर्ने अवसरका रूपमा यसलाई हेरेका थिए, तर ट्रम्पको निर्णयले त्यो योजना असफल बनायो। अधिकांश मुद्दामा पार्टी नेतृत्व ट्रम्पको पक्षमा दृढतापूर्वक उभिएका भए तापनि इरानसँग सम्बन्धित युद्धले पार्टीभित्रको मतभेद सतहमा ल्याएको छ। सुरुमा राष्ट्रपतिलाई निःशर्त समर्थन गर्ने केही रिपब्लिकन सिनेटरहरूले समेत अब संसद्को भूमिकामाथि जोड दिन थालेका छन्। दिवाभोजका क्रममा ट्रम्पले पेन्सिलभेनियाका रिपब्लिकन सिनेटर डेभ म्याककोर्मिकप्रति आफू विशेष रूपमा असन्तुष्ट रहेको बताए। प्रस्ताव निकै कम मतान्तरले पारित भएकाले मंगलबारको मतदानमा उनको अनुपस्थिति ट्रम्पका लागि असन्तुष्टिको विषय बनेको थियो। यद्यपि त्यस समयमा म्याककोर्मिक राष्ट्रपतिसँगै यात्रामा थिए र उनी उपस्थित भएर विपक्षमा मतदान गरेको भए पनि प्रस्ताव असफल पार्न पर्याप्त हुँदैनथ्यो। सहभागी सिनेटरहरूका अनुसार ट्रम्पले प्रस्तावको पक्षमा मतदान गरेकी अलास्काकी रिपब्लिकन सिनेटर लिसा मुर्कोव्स्कीलाई पनि ‘एकदमै खराब व्यक्ति’ भन्दै आलोचना गरेका थिए। सिनेटर केनेडीका अनुसार मतदानको समय र परिस्थितिलाई हेर्दा राष्ट्रपतिको आक्रोश स्वाभाविक थियो। ‘युद्ध अधिकारसम्बन्धी मतदानलाई लिएर उनी निकै चिन्तित र आक्रोशित थिए,’ केनेडीले भने। ‘उनी इरानसँग गम्भीर वार्तामा थिए र बीचमा रोकिएर इरानी वार्ताकारहरूलाई यो मतदानको खास अर्थ नरहेको स्पष्ट पार्नुपर्‍यो। यसले उनलाई स्पष्ट रूपमा विचलित बनायो र म त्यसमा उनलाई दोष दिँदिनँ।’ उनले थपे, ‘राष्ट्रपति अत्यन्त स्पष्टवक्ता छन्। उनले आफूलाई कस्तो महसुस भइरहेको छ भन्ने खुलस्त रूपमा भनेका थिए र म त्यसको सम्मान गर्छु। मेरा विचारमा उनी रिसाउनु जायज थियो।’ बैठकबाट बाहिरिँदा ट्रम्पले त्यो तिक्त वातावरण लुकाउने प्रयास गरे। मुस्कुराउँदै भने, ‘यो वास्तवमै निकै उत्कृष्ट बैठक रह्यो।’ ‘हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं। हामी हाम्रो नेतालाई मन पराउँछौं। कोठामा रहेका सबै सदस्यहरू मलाई मन पर्छन्।’ तर अन्त्यमा थपे, ‘मलाई केही मानिसहरू मन पर्दैनन्, तर त्यो ठिकै छ।’