दक्षिण अफ्रिकाले पहिलोपटक नकआउट चरण प्रवेश गर्दै दक्षिण कोरियालाई पराजित गर्यो
समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको छ। ११ असार, काठमाडौं। दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको हो। समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पुगेको हो। दक्षिण अफ्रिकाका थापेलो मासेकोले निर्णायक गोल गरे। थापेलोले ६३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त रह्यो। चौथोपटक विश्वकप खेल्दै गरेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गर्न सफल भयो। सन् १९९८, २००२ र २०१० मा विश्वकप खेल्दा पनि दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन। दक्षिण अफ्रिकाले ३ खेलमा ४ अंक जोड्दै समूह उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बनेर नकआउटमा स्थान बनाएको छ।

