विश्वकप खेलतालिका अनुसार राउन्ड अफ ३२ मा समूह ए को उपविजेता र समूह बी को उपविजेताबीच प्रतिस्पर्धा हुने व्यवस्था छ। ११ असार, काठमाडौं। फिफा विश्वकप २०२६ का सहआयोजक क्यानडाले राउन्ड अफ ३२ मा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने भएका छन्। दक्षिण कोरियालाई १-० ले पराजित गरेपछि दक्षिण अफ्रिका समूह ए को उपविजेता बनेको र त्यसपछि यो खेल तय भएको हो।
विश्वकप खेल तालिकाअनुसार राउन्ड अफ ३२ मा समूह ए को उपविजेता र समूह बी को उपविजेताबीच प्रतिस्पर्धा हुने नियम छ। सहआयोजक क्यानडाले समूह बी को उपविजेता भएर पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको छ। क्यानडाले समूह बी को अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २-१ ले हार बेहोरे पनि उपविजेता बन्न सफल भयो। यसअघि क्यानडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनासँग १-१ को बराबरी खेलेको थियो भने कतारलाई ६-० ले पराजित गरेको थियो।
पहिलो पटक सहआयोजकको रूपमा विश्वकप आयोजना गरेको क्यानडाले घरेलु मैदानमा विश्वकपको पहिलो जित हासिल गरेर नकआउट चरणसम्म पुगेर इतिहास रचेको छ। त्यस्तै, दक्षिण अफ्रिकाले पनि पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। समूह ए मा दक्षिण अफ्रिकाले १ जित, १ बराबरी र १ हारसहित ४ अंक बनाएको थियो। २०१० मा आफ्नै भूमिमा विश्वकप आयोजना गरेको दक्षिण अफ्रिकाले १६ वर्षपछि विश्वकपमा फर्किँदै महत्वपूर्ण सफलता हात पारेको छ। क्यानडा र दक्षिण अफ्रिकाबीचको खेलबाट विजेता फाइनल १६ मा मोरक्को र समूह एफ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

