जर्मनी लगातार दुई खेल जित्दै समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। आइभरी कोस्टलाई एक बराबरी पनि नकआउट चरणमा पुग्न पर्याप्त हुनेछ। अन्य टोलीहरूको के स्थिति छ? ११ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान समूह इ का दुई खेलहरु हुँदैछन्। जसमा जर्मनीले इक्वेडरसँग र आइभरी कोस्टले कुरासाओसँग प्रतिस्पर्धा गर्नेछ। समूह इ बाट जर्मनीले नकआउट चरणको स्थान सुनिश्चित गरिसकेको अवस्थामा बाँकी तीन टोलीहरूबीच सम्भावित प्रतिस्पर्धा जारी छ। जर्मनीले लगातार दुई खेलमा जित हासिल गर्दै ६ अंकका साथ समूह विजेता भइसकेको छ। अब, बाँकी तीन टोली आइभरी कोस्ट, इक्वेडर र कुरासाओ बीच उपविजेताको लागि प्रतिस्पर्धा छ। आइभरी कोस्ट एक जित र एक बराबरीबाट ३ अंकसहित दोस्रो स्थानमा रहेका छन्। इक्वेडर र विश्वकपमा पहिलो पटक खेलिरहेको कुरासाओको समान १ अंक छ र तेस्रो तथा चौथो स्थानमा छन्। दुवै टोलीले एक खेल बराबरी र एक खेलमा हार ब्यहोरेका छन्।
जर्मनी विरुद्ध इक्वेडर: इक्वेडरलाई जित अनिवार्य छ। जर्मनी र इक्वेडरबीचको खेल अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा नेपाली समय अनुसार बिहान पौने २ बजे सुरु हुनेछ। जर्मनीले समूहको पहिलो खेलमा कुरासाओलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा सुपर सब डेनिस उन्डाभ नायकको गोलमा जर्मनीले अन्तिम समयमा आइभरी कोस्टलाई २-१ ले पराजित गरेको थियो। लगातार दुई खेल जितेर नकआउट चरणमा पुगेपछि जर्मनी टिम आरामदायी अवस्थामा छ। यस अवस्थामा जर्मनीले इक्वेडर विरुद्ध नयाँ खेलाडीहरुलाई अवसर दिन सक्छ। सन् २०१४ ब्राजिल विश्वकप उपाधि जितेपछि जर्मनी पछिल्ला दुई विश्वकप समूह चरणबाटै बाहिरिएको थियो। १२ वर्षपछि नकआउट चरणमा पुगेको यो टोली निकै उत्साहित छ। अर्कोतर्फ, इक्वेडरको स्थिति फरक छ। दुवै खेलमा विजयी हुन नसकेको इक्वेडरलाई जीतभन्दा अरु विकल्प छैन। जर्मनीसँग बराबरी वा हारले इक्वेडरलाई समूह चरणबाट बाहिर पठाउनेछ। इक्वेडरले पहिलो खेलमा आइभरी कोस्टसँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा कुरासाओसँग गोलरहित बराबरी खेलेको थियो। सन् २००६ को विश्वकपमा इक्वेडरले अन्तिम १६ मा प्रवेश गरेको थियो, जुन अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो। २० वर्ष पछि फेरि नकआउट चरण पुग्ने लक्ष्यसँग रहेको इक्वेडरले जर्मनीलाई हराउनुपर्ने छ। विश्वकपमा जर्मनी-इक्वेडर दोस्रो पटक आमने सामने हुँदैछन्। सन् २००६ मा भएको समूह चरण खेलमा जर्मनीले ३-० ले जीत हासिल गरेको थियो। यो दुई टोलीबीचको तेस्रो प्रतिस्पर्धा हुनेछ र हरेकपटक जर्मनी विजेता भएको छ।
फिफा वरियतामा जर्मनी १०औं र इक्वेडर २३औं स्थानमा छन्। आइभरी कोस्टलाई बराबरी पर्याप्त हुनेछ। कुरासाओ ऐतिहासिक जीत निकाल्दै नकआउट चरण पुग्ने लक्ष्यमा समूह इकै अर्को खेलमा कुरासाओ र आइभरी कोस्टबीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि अमेरिकाको फिडाडेल्फिया स्टेडियममा बिहान पौने २ बजे सुरु हुनेछ। आइभरी कोस्टले पहिलो खेलमा अन्तिम समयमा इक्वेडरलाई १-० ले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा आइभरी कोस्टले जर्मनीसँग प्रारम्भमा अग्रता लिएको थियो, तर अन्तिम समयमा गोल खाएपछि २-१ ले पराजित भयो। विश्वकपमा डेब्यु गरिरहेको कुरासाओ पहिलो खेलमा जर्मनीसँग ७-१ को फराकिलो अन्तरले पराजित भएको थियो। उक्त खेलमा कुरासाओले विश्वकपमा आफ्नो पहिलो गोल पनि गरेको थियो। दोस्रो खेलमा इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक अंक समेत जोडेको थियो। अब कुरासाओ विश्वकपमा पहिलो पटक ऐतिहासिक जीत निकाल्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ। त्यसका लागि आइभरी कोस्टको चुनौती पार गर्नु पर्नेछ। आइभरी कोस्टले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन, त्यसकारण यस पटक मौका छ। कुरासाओलाई हराउदै पहिलो पटक नकआउट चरण पुग्न खोज्दैछ। आइभरी कोस्ट र कुरासाओ इतिहासमै पहिलो पटक भिड्दैछन्। फिफा वरियतामा आइभरी कोस्ट ३३औं र कुरासाओ ८२औं स्थानमा छन्। समूह इ को उपविजेता बनाउने टोलीले समूह आई को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।

