Skip to main content

चिनियाँ तटरक्षक गतिविधिप्रति पश्चिमी राष्ट्रहरूको गम्भीर चिन्ता, ताइवानले कृतज्ञता व्यक्त गर्यो

११ असार, काठमाडौं। ताइवानको पूर्वी तटमा चिनियाँ कोस्ट गार्ड र अन्य सैन्य गतिविधिहरू बढेको विषयमा अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले गम्भीर चिन्ता व्यक्त गरेपछि ताइवानले ती राष्ट्रहरूलाई धन्यवाद दिएको छ। ताइवान सरकारले सामुद्रिक मार्गमा निर्बाध आवतजावत (फ्रीडम अफ नेभिगेसन) विश्वव्यापी व्यापारका लागि अपरिहार्य रहेकोमा जोड दिएको छ। चीनले ताइवानलाई आफ्नो क्षेत्रका रूपमा दाबी गर्दै आएको छ।

गत जुन महिनाको सुरुमा चीनले ताइवानको पूर्वी तट नजिकैका जलक्षेत्रमा ‘विशेष सामुद्रिक ट्राफिक कानुन–कार्यान्वयन अपरेसन’ सञ्चालन गर्न आफ्ना तटरक्षक जहाजहरू पठाएको थियो, जसप्रति ताइपेईले कडा आपत्ति जनाएको थियो। जापान र फिलिपिन्सले आफ्नो सामुद्रिक सिमानाबारे औपचारिक वार्ता सुरु गर्ने घोषणा गरेपछि चीनले त्यसको प्रतिक्रियास्वरूप यो कदम चालेको दाबी गरेको छ। बेइजिङले उक्त वार्तामा समेटिने क्षेत्र ताइवान नजिकैको चिनियाँ जलक्षेत्र भएको तर्क गरेको छ।

ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का महासचिव जोसेफ वुले सामाजिक सञ्जाल एक्समार्फत चार पश्चिमी देशहरूको वक्तव्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, वर्तमान स्थिति (स्टाटस को) एवं क्षेत्रीय शान्ति र स्थिरता सबैको साझा चासो भएको उल्लेख गर्दै चीनले आफ्नो सामुद्रिक विस्तारवाद रोक्नुपर्ने बताए। यस विषयमा चिनियाँ विदेश मन्त्रालयले हालसम्म कुनै टिप्पणी गरेको छैन।

चीनले ताइवानको सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गर्दै टापु र वरपरको जलक्षेत्र आफ्नै भूभाग भएको उल्लेख गर्दै आएको छ। ताइवानको तटरक्षक बल हेर्ने ओसन अफेयर काउन्सिलले ताइवान जलमार्ग र वरपरको क्षेत्रमा सामुद्रिक सुरक्षा विश्वव्यापी व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको जनाएको छ। परिषद्का अनुसार ताइवानमाथि चीनको सामुद्रिक उत्पीडन र राजनीतिक दबाबले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मात्र नभई अन्तर्राष्ट्रिय समुदायको साझा हितमा पनि बाधा पुर्‍याएको छ।