अमेरिका आरामदायी अवस्थामा, अस्ट्रेलिया र पाराग्वेको समूह उपविजेताको लागि प्रतिस्पर्धा
११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह डी को दुई खेल शुक्रबार बिहान हुँदैछ। जसमा अमेरिकाले टर्किएसँग खेल्नेछ भने अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ। सहआयोजक अमेरिका यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको अवस्थामा अस्ट्रेलिया र पाराग्वे नकआउट चरणमा पुग्ने होडमा छन्। यस समूहबाट टर्किए लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिने पक्का भइसकेको छ। अब समूहको अन्तिम खेलपछि नकआउट चरण पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ र उत्कृष्ट तेस्रो हुने सम्भावित टोलीको पनि निर्णय हुनेछ।
अमेरिका लगातार दुई खेल जितेर एक खेल अगावै समूह विजेता बनिसकेको छ। समान ३ अंक रहेको अस्ट्रेलिया र पाराग्वे अन्तिम खेल जित्दै समूह उपविजेता बन्ने होडमा छ। टर्किए प्रतियोगितामा सुखद रुपमा अन्त्य गर्न चाहन्छ। नकआउट अघि अन्तिम तयारीमा अमेरिका टर्किए र अमेरिकाबीचको खेल अमेरिकाको लस एन्जलस स्टेडियममा शुक्रबार बिहान पौने ८ बजे सुरु हुनेछ। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई ४-१ ले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा अस्ट्रेलियालाई २-० ले पराजित गरेपछि अमेरिकाले एक खेल अघि नै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।
घरेलु मैदानमै भइरहेको विश्वकपमा अमेरिकाले यस पटक समूह चरणमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यही लयलाई निरन्तरता दिँदै अघि बढ्ने लक्ष्यमा रहेको अमेरिका टर्किए विरुद्धको खेललाई नकआउटको खेलका लागि अन्तिम तयारी गर्न चाहन्छ। टर्किए भने पहिलो खेलमा अस्ट्रेलियासँग २-० ले पराजित भयो भने दोस्रो खेलमा दश खेलाडीको पाराग्वेसँग १-० ले पराजित भयो। डार्क हर्सको रुपमा हेरिएको टोली टर्किएले यस पटक सबैलाई निराश बनायो। अब समूहको अन्तिम खेलमा सकरात्मक नतिजा ल्याउँदै प्रतियोगितालाई सुखद सुरुमा अन्त्य गर्ने लक्ष्य टर्किए छ।
समूह विजेता बन्दै नकआउट पुगिसकेको अवस्थामा अमेरिकाले टर्किए विरुद्ध आफ्ना मुख्य खेलाडीलाई आराम दिएर अरु खेलाडीलाई अवसर दिन सक्नेछ। फिफा वरियतामा १७औं स्थानमा रहेको अमेरिका र २२औं स्थानमा रहेको टर्किए अन्तर्राष्ट्रिय फुटबलमा परिचित प्रतिद्वन्दी हुन्। तर विश्वकपमा भने यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन्। यसअघि ५ भेटमा मिश्रित नतिजा आएको छ। अमेरिका र टर्किएले २-२ खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो। गत वर्ष अमेरिकामै भएको मैत्रीपूर्ण खेलमा टर्किए २-१ ले विजयी भएको थियो।
समूह डी को विजेता बनिसकेको अमेरिकाले राउण्ड अफ ३२ मा समूह बी वा बि को तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ। समूह उपविजेता बन्न भिड्दै अस्ट्रेलिया र पाराग्वेको खेल अमेरिकास्थित सन फ्रान्सिस्को बे एरेना स्टेडियममा बिहान पौने ८ बजे सुरु हुनेछ। अस्ट्रेलिया र पाराग्वेको विश्वकप सुरुवात फरक तरिकाले भएको थियो। तर अहिले यी दुई टोली एउटै अवस्थामा छन्। दुवैको नजर नकआउटमा पुग्नमा छ। यो यस्तो खेल बन्न सक्नेछ जहाँ दुवै टोली नकआउट चरणमा पुग्न सक्छन् वा ती दुई मध्ये एक टोली मात्रै नकआउट चरणमा पुग्न सकिन्छ। यसमा स्पष्ट जित हात पार्ने टोली समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्नेछ। यदी अस्ट्रेलिया र पाराग्वेले बराबरी गरेमा दुवैले नकआउट चरणमा पुग्ने सम्भावना कायम रहनेछ। यस्तोमा राम्रो गोल अन्तर भएको अवस्थामा समेत बराबरीले अस्ट्रेलिया समूह उपविजेता बन्नेछ। बराबरीले दुवैको ४ अंक हुने हुँदा पाराग्वे पनि उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा पुग्न सक्छ। यदी अस्ट्रेलिया वा पाराग्वे मध्ये कुनै एक पराजित भएपनि ३ अंकसहित तेस्रो स्थानमा रहेर अझै पनि तेस्रो भएर नकआउट चरणमा पुग्न सक्छ। त्यसका लागि अन्य समूहका नतिजा र गोल अन्तर महत्वपूर्ण हुनेछ। सन् २००६ र २०२२ मा नकआउट चरणमा पुगेको अस्ट्रेलिया तेस्रो पटक समूह चरण पार गर्ने लक्ष्यमा रहेको छ। यस्तै पाराग्वे पाँचौं पटक नकआउट चरणमा पुग्ने लक्ष्यमा छ। फिफा वरियतामा अस्ट्रेलिया २७औं र पाराग्वे ४१औं स्थानमा छन्। समूह डी को उपविजेता बन्ने टोलीले समूह जी को उपविजेतासँग खेल्नेछ।

