गाउँघर साँच्चै खाली छन्। पितापुर्खाहरूले हुक्का तानेर बस्ने ठाउंमा घाँस पलाएको छ। पारिवारिक फोटो फ्रेम टाँगिने भित्ताहरू खण्डहर भएका छन्। मुख्य ढोकामा ताल्चा लागेको छ। बाली र बगैंचाहरू झार र जंगलले ढाकिएका छन्। आँगन स्मृतिहरूको मृत दृश्य जस्तै भएको छ। गाउँघर सुनसान छन्। अधिकांश गाउँमा जवान छोराछोरी छैनन्, रमाउन दौडिने बालबालिका पनि छैनन्। यस विरक्तिपूर्ण पृष्ठभूमिमा बाबुराम भट्टराई गाउँतिर टुप्लुक्क देखापर्छन्। कहिले आँगनमा बसेर अल्बर्ट आइस्टाइन पढ्छन्, कहिले छिमेकसँग मिलेर बाटो मर्मत गर्छन्, कहिले ओसिलो बेलुकी आफ्नी जीवनसंगीसँग ब्याडमिन्टन खेल्छन्। जे होस, ग्रामीण जीवनमा उनी रमाइरहेका देखिन्छन्। गाउँ बसाइमा उनले मिठा र तीतो अनुभवहरूै सङ्गालेका छन्। आफन्तले पाहुना बोलाएर खुवाएको लोकल कुखुरा र ढिंडोको स्वाद जस्तै गाउँका सबै कुरा मिठो रहेनछ। एक महिनाको बसाइमा उनले यो कुरा बुझेका छन्। ग्रामीण समाज कसरी खाली हुँदैछ? पाका बुबाआमा र छोराछोरीबीच दूरी कसरी बढ्दैछ? विद्यालय शिक्षामा भेदभाव कसरी बढ्दैछ? सुनेर बाबुराम भट्टराईको मन भुँइ चसक्क भएको छ। उनी लेख्छन्, ‘मैले यही स्थानीय विन्ध्यवासिनी स्कुलको प्रारम्भकालमा चौतारामा चकटीमा बसेर पढेको इतिहास सुनाउँदै सरकारी स्कुलमा पढेर पनि राम्रो गर्न सकिन्छ भन्ने तर्क गर्न खोजें। तर, विषय धेरै गहिरो र संवेदनशील रहेछ।’ पछिल्लो दशकमा सरकारी विद्यालयमाथि निजी विद्यालय हावी हुँदै गएको विषय उनले मात्र छैन, महसुस गरेका छन्। निजी विद्यालयमा पढाउन नसक्ने मनोवैज्ञानिक असर कति भयावह छ, उनले अनुभूत गरेका छन्। त्यसैले उनले लेखेका छन्, ‘निजी र सरकारी स्कुलबिचको बढ्दो दूरीले समाजमा विभेदकै खाडल थप्दै छ। यसले नयाँ द्वन्द्व सिर्जना गर्छ। यसको छिटो अन्त्य गर्न राज्य र समाज दुवैले बेलैमा पहल गर्नुपर्छ।’

