Skip to main content

नेपाल टेलिकमले आफ्नै सफ्टवेयर विकास गर्दै, ‘भाइब कोडिङ’ प्रविधिमा जोड

११ असार, काठमाडौं । सरकारले ९० प्रतिशत स्वामित्व राख्ने राष्ट्रिय दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफूलाई आधुनिक, डिजिटल र ग्राहक-केंद्रित बनाउनका लागि आवश्यक पर्ने सफ्टवेयरहरू आफैं विकास गर्ने अभियान थालेको छ । पहिले कम्पनीले यस्ता सफ्टवेयरहरू बाह्य स्रोतबाट ल्याउँदै आएको थियो, तर अब आफ्नै प्राविधिक जनशक्ति परिचालन गरेर विभिन्न आन्तरिक (इन-हाउस) सफ्टवेयर प्रणालीहरू विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको छ, कम्पनीका प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।

आफ्ना आन्तरिक कार्यप्रणालीहरू स्वचालित, पारदर्शी र जवाफदेही बनाउन आरम्भ गरिएको यस प्रयासले कम्पनीको सुशासन र सेवा प्रवाहमा ठूलो सुधार ल्याउने विश्वास लिइएको छ । जस्तै, टेलिकमले केन्द्रीय कार्यालयदेखि क्षेत्रीय निर्देशनालय र मातहतका सबै कार्यालयहरूमा ‘प्रोक्योरमेन्ट म्यानेजमेन्ट सिस्टम’ अर्थात् खरिद व्यवस्थापन प्रणाली लागू गरेको छ । नेपालको सार्वजनिक खरिद ऐनका प्रावधान र व्यावहारिक आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको यो सफ्टवेयरले खरिद प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ, प्रवक्ता लामिछानेले बताए ।

खरिद योजना निर्माणदेखि बोलपत्र आह्वान, सम्झौता र अनुगमनसमेत सबै प्रक्रिया डिजिटल माध्यमबाट गरिने भएकाले प्रशासनिक ढिलाइ कम हुनेछ र यसले समयको बचत हुनेछ भनी कम्पनीले जनाएको छ । साथै, देशभर रहेका टेलिकम कार्यालयहरूको मर्मत–सम्भार व्यवस्थापनका लागि ‘ड्युटी चार्ट म्यानेजमेन्ट सिस्टम’ नामक नयाँ सफ्टवेयर पनि विकास गरिएको छ । यसले कुन कार्यालयमा कुन प्राविधिक कस्तो शिफ्टमा काम गर्दैछन् र उनीहरूको जिम्मेवारी के छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सहज बनाउँछ । विशेष गरेर दूरसञ्चार सेवामा अवरोध आउँदा ड्युटिमा रहेका कर्मचारीलाई सिधै सम्पर्क गर्न फोन नम्बर सहित आवश्यक विवरण उपलब्ध गराइएकोले समस्या समाधान छिटो हुने प्रवक्ता लामिछानेले बताए ।