Skip to main content

कोशी प्रदेशका लागि २ अर्ब ८ करोडभन्दा बढीको योजनाहरू स्वीकृत

११ असार, विराटनगर । कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशका चारवटा योजनाका लागि लगानी स्वीकृत गरेको छ । केही दिनअघिको प्राधिकरणको ३३औं बैठकले सार्वजनिक निजी साझेदारी मोडलमा २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी अनुमोदन गरेको हो। कोशी प्रदेश लगानी सम्मेलनमा एक वर्षअघि प्रस्तुत गरिएका प्रस्तावहरूमध्ये सम्भाव्यता आधारमा चारवटा आयोजना अन्तिम स्वरूप दिएको हो, जुन जानकारी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बिहीबार पत्रकार सम्मेलनमा दिएका थिए।

उनका अनुसार, सुनसरीको दुहवी–४ मा ५५ करोड ९५ लाख रुपैयाँ लागतमा आधुनिक फोहोरमैला व्यवस्थापन परियोजना निर्माण गरिनेछ। यसको जिम्मेवारी रिभाइभ इन्फ्राटेक एन्ड इन्भेस्टमेन्टले पाएको छ। दुहवी–४ र १० मा ३४ करोड रुपैयाँ लगानीमा मल्टी चेम्बर तथा कोल्ड स्टोरेज बनाउने योजना स्वीकृत भएको छ, जसको निर्माण दीर्घायु एग्रो एन्ड इन्भेस्टमेन्टले गर्नेछ।

उदयपुरको बेलका–९ मा रामपुर बहुउद्देशीय कृषि फार्मले २० करोड रुपैयाँ लगानीमा फोहोरमैला व्यवस्थापनसहित मल कारखाना र पशुपालन परियोजना सञ्चालन गर्ने योजना स्वीकृत भएको छ। सुनसरीको रामधुनी–७ स्थित रास ताल क्षेत्रको पर्यटकीय विकास र सञ्चालनका लागि अर्बान एक्सप्लोरर प्रालिलाई ९८ करोड ५८ लाख रुपैयाँ लगानीको अनुमति दिइएको छ। प्राधिकरणले विराटनगरमा रानीदेखि बसपार्कसम्मको क्षेत्रमा पोड–वे निर्माणका लागि प्रक्रिया सुरु गरेको छ। करिब ६ अर्ब रुपैयाँको लागत अनुमान गरिएको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न काठमाडौँ पोडवे कम्पनीलाई अनुमति दिइएको छ। कोशी प्रदेशमा ६ वर्षअगाडि लगानी प्राधिकरण स्थापना गरिएको थियो। प्राधिकरणको पहलमा निर्माण भएको भेडेटार स्काइ वाक पनि सञ्चालनमा आएको छ।